काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पार्टी सरकारमा सहभागी नहुने बताएका छन् ।
बुधवार पृथ्वी जयन्तीको अवसर पारेर राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौँमा आयोजना गरेको चियापान कार्यक्रममा उनले यस्तो बताएका हुन् । वरिष्ठ नेता पौडेलले पाँच वर्षभित्र देशमा धेरै ठूलो विकासमा फड्को मार्ने गरी काम गर्न प्रतिपक्षमै बसेर सरकारलाई सहयोग गर्न आफ्नो पार्टीले विश्वासको मत दिएको बताए।
उनले भने, ‘अब राष्ट्र बनाउन, राष्ट्र बचाउन राष्ट्रिय एकताको आवश्यकता छ भनेर मैले भन्दै पनि आएको थिएँ । आज राष्ट्रिय एकता दिवस पनि पर्यो । एकता दिवसमा केवल फर्मालिटी पूरा गर्नका लागि मात्रै मनाउने होइन, हामीले साँच्ची नै एकताबद्ध गरेर राष्ट्रको निर्माण गर्नुछ । राष्ट्रिय एकताको खाँचो छ । त्यसो भएको हुनाले हिजो हामीले सबैले एकै ठाउँ भोट हाल्यौँ । हामी सत्तामा नगई तलबाटै सहयोग गर्ने । अहिले सरकारमा जाने कुरा नै छैन । हामी सरकारमा जाँदैनौँ ।’
नेता पौडेलले राष्ट्रलाई एकीकरण गर्नुभएका पृथ्वीनारायण शाहको स्मृतिमा राष्ट्रिय एकता दिवस मनाउनु नेपालका लागि अत्यन्तै खुसी र गौरवको विषय भएको बताए । उनले पृथ्वीनारायण शाहको दिव्योपदेशको स्मरण गर्दै घुस लिने र दिने अपराध कर्मको अन्त्य गरी भ्रष्टाचारमुक्त देश बनाउन दलहरूले मिलेर काम गर्नुपर्ने बताए ।