एकीकरणले विश्व मानचित्रमा नेपालीको अस्तित्व सम्भव : लिङ्देन « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

एकीकरणले विश्व मानचित्रमा नेपालीको अस्तित्व सम्भव : लिङ्देन


२७ पुस २०७९, बुधबार


काठमाडौँ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०१औँ जन्म जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले कविता गोष्ठीको आयोजना गरेको छ ।

पार्टीले उनले निर्वाह गरेको भूमिका तथा योगदानलाई चिरस्थायी बनाउने उद्देश्यले भृकुटीमण्डप परिसरमा कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा विभिन्न कविले राष्ट्रनिर्माणका क्रममा राष्ट्रनिर्माताले झेल्नुपरेका दुःख कष्ट, त्याग तथा साहस र योगदानको पक्षलाई विभिन्न आयामबाट अभिव्यक्त गरेका छन् । सोही अवसरमा रक्तदान कार्यक्रमसमेत गरिएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन जलपान समारोहको आयोजना गरिएको छ ।

समारोहमा प्रधानमन्त्री, मन्त्री, विभिन्न राजनीतिक दलका प्रमुख तथा नेता, नेपाल सरकारका उच्चपदस्थ व्यक्तित्व एवं नेपालको राष्ट्रिय जीवनका विभिन्न क्षेत्रका व्यक्तित्वलगायतलाई आमन्त्रण गरिएको छ । नेपाली नोटमा पृथ्वीनारायणको तस्बिर अङ्कित गर्न माग गर्दै आएको पार्टीले देशैभर रहेका सबै जिल्ला कमिटीलाई पृथ्वी जयन्तीका दिन राष्ट्रिय एकता दिवस मनाउन परिपत्र गरेको छ ।

यसअघि पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा एक टोलीले सिंहदरवार अगाडि शाहको सालिकमा पुगेर माल्यार्पण तथा पुष्प गुच्छा चढाएको थियो । अध्यक्ष लिङ्देनले राष्ट्रनिर्माताले बाइसे चौबिसे राज्यमा छरिएका भू–भागलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेर हामी सबैलाई नेपालीका रूपमा परिचित गराएकाले उनलाई सबैले सम्मान गर्नुपर्ने बताए ।

सरकारले पृथ्वी जयन्तीमा दिएको सार्वजनिक बिदाले बहुसङ्ख्यक नेपाली जनताको भावना र चाहनाको सम्मान भएको बताउँदै उनले तत्कालीन समयमा भएको एकीकरणले विश्व मानचित्रमा नेपाल र नेपालीको अस्तित्व सम्भव भएको विचार व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस