गुरु न्यौपानेलाई नगद जरिबानासहित १० वर्षको प्रतिबन्ध लगाउने धितोपत्र बोर्डको निर्णय « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

गुरु न्यौपानेलाई नगद जरिबानासहित १० वर्षको प्रतिबन्ध लगाउने धितोपत्र बोर्डको निर्णय


२६ पुस २०७९, मंगलबार


काठमाडौँ । नेपाल धितोपत्र बोर्डले रिडी पावर कम्पनीको अध्यक्ष गुरुप्रसाद न्यौपानेलाई नगद जरिबाना गराएको छ । सञ्चालकमा रहँदा अनधिकृत रूपमा आफैँ सञ्चालक रहेको कम्पनीको सेयर बिक्री गरेपछि बोर्डले न्यौपानेलाई नगद जरिबानासहित १० वर्ष कुनै पनि पब्लिक लिमिटेड कम्पनीको सञ्चालक वा व्यवस्थापक हुन नपाउने गरी कारबाही गरेको हो ।

२४ पुसमा बसको बोर्ड सञ्चालक समितिको बैठकले कम्पनीका अध्यक्ष न्यौपानेलाई सूचीकृत सङ्गठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका विपरीत धितोपत्र कारोबार गरेकोले धितोपत्र सम्बन्धी ऐन २०६३, दफा १०१ (७) अनुसार ७५ हजार रुपैयाँ जरिबाना गरिएको बोर्डले जनाएको छ ।

यस्तै उनलाई धितोपत्र सम्बन्धी ऐनको दफा १०८ अनुसार १० वर्षसम्म कुनै पनि पब्लिक लिमिटेड कम्पनी वा संस्थाको सञ्चालक, महाप्रबन्धक वा सो सरहको पदमा बहाल हुन नसक्ने गरी कारबाही भएको बोर्डले जनाएको छ ।

‘कुनै सञ्चालक, महाप्रबन्धक वा सो सरहको कुनै पद धारण गरेको व्यक्तिले दफा १०१ बमोजिम कुनै सजाय पाएमा त्यस्तो सजाय पाएको मितिले १० वर्षको अवधि पूरा नभएसम्म कुनै पनि पब्लिक लि. कम्पनी वा संस्थाको सञ्चालक, महाप्रबन्धक वा सो सरहको पदमा बहाल हुन योग्य हुने छैन,’ धितोपत्र सम्बन्धी ऐन २०६३, दफा १०८ मा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस