ओलीले प्रतिनिधि सभा विघटनको बचाउ गरेको देख्दा अचम्म लाग्यो : माधव « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

ओलीले प्रतिनिधि सभा विघटनको बचाउ गरेको देख्दा अचम्म लाग्यो : माधव


२६ पुस २०७९, मंगलबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको बचाउ गरेको देख्दा आफूलाई अचम्म लागेको बताएका छन्।

मङ्गलवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लिन लागेको विश्वासको मतको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै नेपालले ओलीलाई कटाक्ष गरेका हुन्।

ओलीले सोमबार र मङ्गलवार संसदमा बोल्दै प्रतिनिधि सभा विघटन गर्नु प्रतिगमन नभएको बताएका थिए। उनले बेलायत, इजरायल, जापानलगायत संसदीय व्यवस्था भएका मुलुकमा पनि संसद विघटन हुने गरेको तर्क गरेका थिए।

संसदमा बोल्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले संसद विघटनबारे ओली संसदमा गर्जिएको देखेर आफू अचम्ममा परेको बताएका हुन्। ओलीले उदाहरण दिएजस्तै नेपालको संविधान बेलायत, जापानको जस्तो नभएको नेपालले बताए।

‘अहिलेको संविधान राणाकालको जस्तो वा २०४८ सालको जस्तो होइन। हामी आफैँले लेखेको संविधानमा संसदले सरकार बनाउन सक्ने अवस्थामा कसैको लहडमा प्रतिनिधि सभा विघटन गर्न नपाइने व्यवस्था छ,’ नेपालले भने,‘सर्वोच्च अदालतले पनि त्यसलाई व्याख्या गरिसकेको छ। हेक्का रहोस् प्रतिनिधि सभा विघटन गर्न पाइँदैन।’

ओलीको भनाइजस्तै अहिलेको गठबन्धनको भनाइ पनि प्रतिनिधि सभा विघटन गर्न सक्छ भन्ने हुनु नहुने नेपालले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस