फ्रान्सका विश्व विजेता गोलरक्षकले लिए सन्यास « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

फ्रान्सका विश्व विजेता गोलरक्षकले लिए सन्यास


२६ पुस २०७९, मंगलबार


काठमाडौँ । फ्रान्स राष्ट्रिय टिमका गोलरक्षक ह्युगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

३६ वर्षीय टोटनह्यामका कप्तानले १८ डिसेम्बर २०२२ मा विश्वकप फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी शुटआउटमा हारेको तीन सातापछि फ्रान्सका लागि सन्यासको घोषणा गरेका हुन् ।

लोरिसले चार वर्षअघि फ्रान्सले विश्वकप जित्दा पनि टिमको कप्तानी गरेका थिए ।

म आफ्नो अन्तर्राष्ट्रिय करिअर अन्त्य गर्दै छु । मेरो बिचारमा मैले देशका लागि सक्ने जति सबै दिएको छु,’ फ्रान्सेली अखबार एल इक्युपसँग कुरा गर्दै लोरिसले भनेका छन्, ‘युरो छनोट प्रतियोगिता सुरु हुनुभन्दा साढे दुई महिनाअघि मैले उपयुक्त समय रोजेको छु ।’

सन् २०२४ को युरो छनोट प्रतियोगितामा फ्रान्स जिब्राल्टर, ग्रिस, नेदरल्याण्ड्स र रिपब्लिक अफ आयरल्यान्डको समूहमा परेको छ ।

लोरिसले २१ वर्षको उमेरमा सन् २००८ मा उरुग्वेसँगको मैत्रीपूर्ण खेलमा अन्तर्राष्ट्रिय डेब्यू गरेका थिए ।

लोरिसले फ्रान्सका लागि कीर्तिमानी १४५ क्याप जितेका छन् । विश्वकप फाइनलमा अर्जेन्टिनासँगको खेल उनको करिअरको कीर्तिमानी खेल थियो । फ्रान्सका लागि उनी जति संख्यामा अरू कसैले खेलेका छैनन् । लोरिसले फ्रान्सका लागि १२१ खेलमा कप्तानी गरेका छन्, यो पनि कीर्तिमान हो ।

‘वास्तवमा मैले विश्वकप सकिएदेखि नै यसबारे सोचिरहेको थिएँ । तर, ६ महिनादेखि नै मैले सोच बनाइसकेको थिएँ,’ लोरिसले भनेका छन् । उनको सन्यास राष्ट्रिय टिमका प्रशिक्षक भिडिएर डेसच्याम्पले चार वर्ष सम्झौता नवीकरण गरे लगत्तै आएको छ ।

कुनै न कुनै दिन यो समय आउनु नै थियो । किनभने तपाई सधैँ फ्रान्स टिमबाट खेल्न सक्नुहुन्न,’ लोरिसले भने, ‘मेरो स्थानमा गोलकिपरहरु तयार भइसकेका छन् । र, मैले आफ्नो लागि, परिवार र बच्चाहरूका लागि पनि समय दिनुपर्नेछ ।’

साढे १४ वर्षसम्म फ्रान्सको गोलरक्षकको भूमिकामा रहनुलाई उनले गर्वको क्षण मानेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस