किसानलाई तरुल खन्न र बिक्री गर्न भ्याइ नभ्याइ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

किसानलाई तरुल खन्न र बिक्री गर्न भ्याइ नभ्याइ


२६ पुस २०७९, मंगलबार


त्रिवेणी । माघेसङ्क्रान्ति नजिकिँदै जाँदा यति बेला तरुल खन्न र बिक्री गर्न किसान व्यस्त बनेका छन् । नवलपरासी(बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा उत्पादन भएको तरुल खनेर बजारमा बिक्रीका लागि उनीलाई भ्याइनभ्याइ भएको हो ।

माघेसङ्क्रान्तिमा तरुलको माघ धेरै हुने हुँदा यति बेला किसानले आफ्नो बारीमा लगाएको तरुल खनेर बजारसम्म लैजाने काम गरिरहेका छन् । माघेसङ्क्रान्तिमा तरुलको माग पनि हुने र सहजरूपमा बिक्री हुने भएपछि आफूले लगाएको तरुल खनेर बिक्रीका लागि बजार लगेको हुप्सेकोट गाउँपालिका-५ का मकरसिंह सारुमगरले बताए । ‘अहिले तरुलको माग धेरै हुन्छ, बिक्री गर्न पनि समस्या हुँदैन, यसैले अहिले लगाएको सबै तरुल खनेर बजार पुर्‍याइयो’, उनले भने । आफूले यस वर्ष करिब दुई क्विन्टल तरुल बेचेको उनले बताए ।

धौवादीका शेरबहादुर झेडीमगरले पनि आफूले लगाएको तरुल खनेर बजारसम्म पुर्‍याइसकेका छन् । माघेसङ्क्रान्तिका दिनमा यसको महत्त्व हुँदा अहिले समयमै बजार पुर्‍याउन आफूहरू लागेको उनले बताए । ‘आजभोलिमा बेच्यो भने बेच्यो, पछि कसैले त्यति खोज्दा पनि खोज्दैन, भाउ पनि हुन्न त्यसैले अहिले लगाएको तरुल खनेर बेच्न चटारो छ’, उनले भने । एक दिनका लागि धेरै उपभोग हुने र अन्य समय खासै महत्त्व नहुने हुँदा धेरै लगाउनसमेत जोखिम रहेको उनले बताए । तर अहिले लगाएको जति बजारीकरणमा भने समस्या नभएको मगरको भनाइ छ ।

पहाडी क्षेत्रमा धेरैजसो किसानले तरुल लगाउने गरेको उनको भनाइ छ । किसानले अदुवा खेतीसँगै बीचमा तरुल लगाउने गरेका छन् । सबैजसो किसानले पञ्जे (हात्तीपाइले) तरुल लगाउने गरेको उनको भनाइ छ । यो तरुल स्वादिलो हुने हुँदा माग पनि धेरै हुने कारणले किसानले पञ्जे तरुल लगाउने गरेको उनको भनाइ छ ।

तरुल लगाउने किसानलाई तरुल बिक्रीबाट घर खर्च चलाउन र माघेसङ्क्रान्ति मनाउन सहयोग पुग्ने गरेको उनको भनाइ छ । ‘तरुल बिक्रीबाट सामान्य घर खर्च पनि चल्छ, सङ्क्रान्ति मनाउन खर्च पनि पुग्छ’, उनले बताए ।

केही वर्षयताबाट तरुल उत्पादनमा भने कमी हुँदै गएको किसान तिलक रानाले बताए । कीरा लाग्ने समस्याका कारण पछिल्ला केही वर्षयता उत्पादनमा भने कमी हुँदै गएको उनले बताए । अदुवा खेतीमा पञ्जे तरुल लगाउँदा राम्रो हुने र बाहिर लगाउँदा राम्रो नहुने हुँदा अदुवा लगाउने सबैजसो किसानले तरुल लगाउने गरेको रानाले बताए। तर पछिल्ला वर्षमा तरुलमा कीराको समस्या देखिएपछि किसानले थोरै–थोरै क्षेत्रफलमा लगाउने गरेको उनको भनाइ छ । यसले उत्पादनमा समेत कमी हुँदै गएको रानाले बताए ।

नवलपुरको पहाडी क्षेत्रबाट अहिले दैनिक जसो करिब १० क्विन्टल तरुल कावासोतीमा मात्रै आउने गरेको कावासोतीमा तरुल थोक बिक्रेताका रूपमा काम गर्दै आएका व्यवसायी लालबहादुर सारुले बताए । कावासोतीसहित दलदले क्षेत्रमा समेत सोही मात्रामा तरुल पहाडी क्षेत्रबाट किसानले ल्याउने गरेको उनले बताए । नवलपुरमा उत्पादन भएको तरुल स्थानीय बजारसँगै पोखरा र काठमाडौँमा खपत हुने गरेको उनको भनाइ छ । आफूले अहिले पहाडी क्षेत्रमा उत्पादन भएको तरुल दैनिक रूपमा पोखरा र काठमाडौँमा पठाउने गरेको सारुले बताए ।

दैनिक जसो किसानले ल्याएको तरुल बिक्रीमा समस्या नभएको र सबै खपत हुँदै आएको उनले बताए । सारुका अनुसार किसानले अहिले प्रतिकेजी रु ४५ सम्म बुझ्ने गरेका छन् । आफूहरूले बाहिरी जिल्ला पठाउँदा भने ढुवानीसहित सबै लागत जोडेर मूल्य प्रतिकेजी रु ७० देखि रु ८० सम्म पर्ने गरेको सारुले बताए । नेपाली समुदायमा माघेसङ्क्रान्तिमा तरुल, सखरखण्डसँगै चाकु, सेलरोटीलगायतका परिकार खाने प्रचलन रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस