पहिलो प्रतिनिधिसभा बैठकमा सभापति देउवाको मन्तव्य (पुर्णपाठ) « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

पहिलो प्रतिनिधिसभा बैठकमा सभापति देउवाको मन्तव्य (पुर्णपाठ)


२५ पुस २०७९, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभाको पहिलो बैठकमा नरम रूपमा प्रस्तुत भएका छन्। 

सोमबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा सभापति देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई दिँदै सुरुमा लोकतान्त्रिक व्यवस्थाको स्थापना, पुनर्स्थापना र संरक्षणका लागि जीवन आउती दिने सहिदहरूप्रति श्रद्धाञ्जली दिए।

साथै उनले प्रधानमन्त्री प्रचण्डलाई बधाई दिए। सत्तापक्षको कुनै पनि आलोचना नगरेका उनले मंसिर ४ गतेको निर्वाचनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए। 

लिखित भाषण गरेका उनले भने, ‘माननीय पुष्पकमल दाहाल प्रचण्डजी प्रधानमन्त्री नियुक्त हुनु भएको छ। उहाँको नेतृत्वमा नयाँ मन्त्रिपरिषद्को गठन भएको छ। म नवनियुक्त प्रधानमन्त्री माननीय प्रचण्डजीलाई हार्दिक बधाई दिन चाहन्छु। उहाँको कार्यकालको पूर्ण सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु। मन्त्रिपरिषदमा नवनियुक्त माननीय मन्त्रीज्यूहरूलाई बधाईका साथै सफलताको शुभ कामना व्यक्त गर्दछु।’

साथै पूर्व प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले विगतको १८ महिनामा भएका राजनीतिक घटनाक्रमको स्मरण गरेका छन्।

१८ महिना पहिले अप्रत्याशित तवरले विकसित राजनीतिक घटनाक्रमको बीचमा पाँच दलको समर्थनमा आफू प्रधानमन्त्री नियुक्त भएको उल्लेख गर्दै पछिल्लो पटक प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन स्वतन्त्र, निष्पक्ष, भयरहित वातावरणमा सफलतापूर्वक सम्पन्न भएर पहिलो बैठकमा बोल्न पाउँदा आफूलाई हर्ष एवं गौरवको अनुभूति भएको बताए। 

पूर्णपाठ :

सम्माननीय सभामुख महोदय,    

१. नेपालको वर्तमान संविधान जारी भएपछि दोस्रो प्रतिनिधि सभाको पहिलो बैठक आज प्रारम्भ हुँदैछ। म सबै भन्दा पहिले देशमा लोकतान्त्रिक व्यवस्थाको स्थापना, पुनर्स्थापना र संरक्षणका लागि जीवन आउती दिन हुने सम्पूर्ण प्रातः स्मरणीय ज्ञात, अज्ञात सहिदहरूमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।

२. देशमा संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गर्न र वर्तमान संविधान निर्माण गर्न योगदान गर्नु हुने सबैका प्रति उच्च सम्मान गर्दै प्रशंसा गर्न चाहन्छु।

३. प्रतिनिधि सभामा निर्वाचित भएर आउनु भएका सबै माननीय सदस्य साथीहरूलाई हार्दिक बधाई दिन चाहन्छु । तपाईँहरू पाँच वर्षको आफ्नो कार्यकालमा देश र जनताको हितमा काम गर्न सर्वथा सफल हुनु हुनेछ भन्ने विश्वास गर्दै कार्यकालको पूर्ण सफलताको शुभ कामना व्यक्त गर्दछु । तपाईँहरूलाई निर्वाचित गर्ने जनताको भावना अनुरूप काम गर्न अनुरोध गर्दछु।

४. माननीय पुष्पकमल दाहाल प्रचण्डजी प्रधानमन्त्री नियुक्त हुनु भएको छ। वहाँको नेतृत्वमा नयाँ मन्त्रिपरिषद्को गठन भएको छ। म नवनियुक्त प्रधानमन्त्री माननीय प्रचण्डजीलाई हार्दिक बधाई दिन चाहन्छु। वहाँको कार्यकालको पूर्ण सफलताको हार्दिक शुभ कामना व्यक्त गर्दछु। मन्त्रिपरिषदमा नव नियुक्त माननीय मन्त्रीज्यूहरूलाई बधाईका साथै सफलताको शुभ कामना व्यक्त गर्दछु।

५. आजभन्दा अठार महिना पहिले अप्रत्याशित तवरले विकसित राजनीतिक घटनाक्रमको बीचमा नेपाली काँग्रेससहित नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको सहयोग र समर्थनमा म प्रधानमन्त्री नियुक्त भएको थिए।

तत्कालीन अवस्थामा संविधानको भावना बमोजिम प्रतिनिधि सभालाई पूर्ण कार्यकाल कार्य सम्पादन गर्ने सुनिश्चितता गर्नु, स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन समयमा सम्पन्न गरी देशलाई लोकतान्त्रिक मार्गमा अग्रसर गराउनु मेरो नेतृत्वको सरकारको प्राथमिक जिम्मेवारी थियो। यस कार्यमा तमाम चुनौती र कठिनाइहरू थिए तापनि प्रतिनिधि सभा पूर्ण कार्यकाल कायम रह्यो।

स्थानीय तहको निर्वाचन समयमा सम्पन्न भयो। पछिल्लो पटक प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन स्वतन्त्र, निष्पक्ष, भयरहित वातावरणमा सफलतापूर्वक सम्पन्न भएर आज हामी प्रतिनिधि सभाको पहिलो बैठकमा बसी रहँदा मलाई हर्ष एवं गौरवको अनुभूति भएको छ। म यस अवसरमा सबैमा हार्दिक धन्यवाद दिन चाहन्छु।

सभामुख महोदय,

६.    आवधिक निर्वाचन लोकतन्त्रको अनिवार्य सर्त हो। स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनहरू समयमा सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने देश भित्र र विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरू, सबै मतदाता, राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय, समग्र कर्मचारी संयन्त्र, नागरिक समाज, बुद्धिजीवी, सञ्चार जगत र निर्वाचनमा प्रत्यक्ष वा परोक्ष रूपले संलग्न भई सहयोग गर्ने सबैमा हार्दिक आभार व्यक्त गर्दै धन्यवाद दिन चाहन्छु। निर्वाचनको प्रयोजनका लागि अन्तर्राष्ट्रिय जगतबाट प्राप्त सद्भाव र सहयोगका लागि धन्यवाद दिन चाहन्छु।

७.   म माननीय सदस्यहरूलाई विशेष रूपले आग्रह गर्न चाहन्छु। यो प्रतिनिधिसभाबाट नेपाली जनताले धेरै अपेक्षा राखेका छन्। हाम्रो आगामी यात्रा, माध्यम र गन्तव्य स्पष्ट हुन जरुरी छ। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्त गर्नु हामी सबैको साझा लक्ष्य हो। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण आजको आवश्यकता हो।यसका लागि नेपालको संविधानको रक्षा र संविधानको भावना अनुरूप कार्यान्वयन अनिवार्य सर्त हो।

संविधानको कार्यान्वयनका लागि धेरै नीति र कानुन निर्माण गर्न बाँकी छ। संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरणका लागि त्यस अनुरूपका आवश्यक नीति र कानुन बनाउनु छ। लोकतन्त्रको उन्नयनका निमित्त संविधान कानुनका साथै नैतिक आचरणको विशेष महत्त्व हुन्छ। हाम्रो सम्पूर्ण ऊर्जा, मनस्थिति, व्यवहार र काम कारबाही नेपाल र नेपाली जनताको बृहत्तर हितका निमित्त केन्द्रित हुनु पर्दछ। सबै माननीय साथीहरूमा म हार्दिक अपिल गर्न चाहन्छु प्रतिनिधि सभाको यो कार्यकाल संविधानको सुरक्षा, कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरणका लागि विशेष योगदान गर्न सकोस्। हामी सबै यसमा सफल हुन सकौँ।

सभामुख महोदय,

८.  मंसिर ४ गते सम्पन्न निर्वाचनबाट नेपाली काँग्रेस प्रतिनिधि सभा र प्रदेश सभामा सबै भन्दा ठूलो राजनीतिक दल बनेको छ। नेपाली काँग्रेसमा यति ठूलो विश्वास र भरोसा गरेर जनमत प्रदान गर्नु हुने देश भित्र र बाहिर रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदी बहिनीहरूमा आभार व्यक्त गर्दै हार्दिक धन्यवाद दिन चाहन्छु।पार्टीका सबै साथीहरूले गर्नु भएको मेहनतको उच्च सराहना गर्दै धन्यवाद दिन चाहन्छु।

सञ्चारमाध्यमले जनतालाई सुसूचित गर्ने गरी असल काम गर्नु भएको छ। उहाँहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। नागरिक समाज, बुद्धिजीवी लगायत सबै शुभेच्छुकप्रति आभारी छु। म सम्पूर्ण दाजुभाइ, दिदीबहिनीलाई विश्वास दिलाउन चाहन्छु, तपाईँले दिनु भएको विश्वासमा ठेस लाग्न दिने छैनौँ। नेपाली काँग्रेस जनताको अपेक्षा र पार्टीका साथीहरूको भावना अनुसार काम गर्नेछ। हाम्रा असङ्ख्य सहिदहरूको त्याग, तपस्या र बलिदानबाट हामीले प्रेरणा पाएका छौँ।

संस्थापक नेता वि।पी। कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला लगायतका नेताहरूको मार्ग दर्शनले हाम्रो यात्रा निर्देशित छ। म सबै नेताहरूको योगदानलाई श्रद्धापूर्वक स्मरण गर्न चाहन्छु।

म नेपाली काँग्रेसको इतिहासलाई पनि स्मरण गरिरहेको छु। देशमा जुनसुकै बेला जस्तोसुकै समस्या आई परे पनि काँग्रेसले आफ्नो नेतृत्वमा समाधान दिएको छ। यो सुनौलो इतिहासले हामीलाई आगामी दिनमा पनि प्रेरणा दिइरहने छ। देशभरिका लाखौँ साथीहरूको कठोर परिश्रम, मेहनतले हामी नेपाली जनतामाझ स्थापित भएका छौँ। म सबै साथीहरूलाई विश्वास दिलाउन चाहन्छु सहिदहरूको बलिदान, नेताहरूको प्रेरणा र मार्ग निर्देश र साथीहरूको परिश्रम खेर जान दिइने छैन।

हामी नेपालको संविधानको रक्षा र कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सबलीकरण गर्दै देशमा दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्त गर्ने हाम्रो लक्ष्यमा अविचलित रूपले लागिरहने छौँ। देश र जनताको बृहत्तर हितमा काम गर्ने छौँ। यो प्रतिनिधि सभामा नेपाली नेपाली काँग्रेस एकताबद्ध, जिम्मेवार र रचनात्मक भई प्रस्तुत हुनेछ। जनताका जीवनसँग जोडिएका विषयमा हाम्रो विशेष ध्यान जानेछ।

सभामुख महोदय,

९.  अन्तमा एक पटक पुनः नवनियुक्त प्रधानमन्त्री माननीय पुष्पकमल दाहाल प्रचण्डजी र सबै माननीय सदस्यहरूलाई बधाई र कार्यकालको सफलताको कामना गर्दछु।

धन्यवाद। जय नेपाल।  

Tags :
प्रतिक्रिया दिनुहोस