प्रदेश १ मा माओवादीको असन्तुष्टि, सरकारमा तत्काल सहभागी नहुने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रदेश १ मा माओवादीको असन्तुष्टि, सरकारमा तत्काल सहभागी नहुने


२५ पुस २०७९, सोमबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) प्रदेश १ ले सत्ता साझेदार दलको केन्द्रको निर्णयप्रति असन्तुष्टि जनाएको छ ।

केन्द्रीय नेतृत्वले भागबन्डा गर्दा प्रदेश १ को मुख्यमन्त्री पूर्ण कार्यकाल एमालेलाई दिने सहमति गरेपछि नेकपा माओवादी केन्द्र तत्काल सरकारमा सहभागी नहुने भएको छ ।

सरकारमा सहभागिताका लागि माओवादी केन्द्रले निर्णय पुनरावलोकन हुनुपर्ने सर्त राखेको छ । माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बाले निर्णय पुनरावलोकन नभएसम्म सरकारमा सहभागी नहुने बताए । आधारआधा कार्यकाल हुनुपर्ने माओवादी केन्द्रको माग छ ।

आङ्बोले केन्द्रको सहमतिले प्रदेशमा माओवादी पार्टीको अपमान भएको बताए । ‘केन्द्रको सहमतिले प्रदेश १ मा माओवादी केन्द्रको अपमान भएको छ,’ उनले भने,‘ निर्णय पुनरावलोकन नभएसम्म हामी सरकारमा सहभागी हुँदैनौं ।’

आङ्बोले मुख्यमन्त्रीमा आलोपालो हुने बताउँदै आएका थिए । तर आइतबार साझ बसेको सत्तारुढ गठबन्धनको बैठकले प्रदेश १ मा पाँच वर्ष नै एमालेलाई दिने सहमति गरेको थियो ।

एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्की आइतबार नै मुख्यमन्त्री नियुक्त भएका थिए । आज उनको शपथग्रहण छ । आज उनले सानो आकारको मन्त्रीमण्डल पनि विस्तार गर्ने तयारी छ ।

सरकारलाई दिएको समर्थन भने यथावत रहने आङ्बोले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस