मेनपावरमा विभागको छापा : ९९७ थान पासपोर्ट नियन्त्रणमा, सञ्चालक फरार « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

मेनपावरमा विभागको छापा : ९९७ थान पासपोर्ट नियन्त्रणमा, सञ्चालक फरार


२४ पुस २०७९, आइतबार


काठमाडौँ । काठमाडौँ महानगरपालिका-३, बाँसबारीमा रहेको एक संस्थामा वैदेशिक रोजगार विभागले छापा मारेको छ । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै पासपोर्ट र लाखौँ रुपैयाँ असुल गर्ने ‘सी स्टार सिपिङ सर्भिस एण्ड ट्रेनिङ सेन्टर’ नामक संस्थाको कार्यालयमा विभागले छापा मारेको हो ।

छापा मारेर ९९७ थान पासपोर्ट बरामद गरिएको विभागले जनाएको छ । मलेसिया, मकाउ, लिथोनिया लगायतका देशमा वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै उक्त संस्थाले १ लाखदेखि ५ लाख रुपैयाँसम्म पैसा असुल्ने गरेको पाइएको विभागले जनाएको छ ।

आफ्नो पासपोर्ट र १ लाख रुपैयाँ बुझाएका एक पीडितले आफूलाई लिथोनिया पठाइदिने भन्दै ५ लाख रुपैयाँ माग गरेको बताए । मलेसियाको समुन्द्रमा पानीजहाज कम्पनीमा काम गर्न पाउने र त्यसका लागि ५ लाख रुपैयाँ लाग्ने बताएपछि सोही आधारमा उनीसँग १ लाख रुपैयाँ अग्रिम रूपमा माग गरिएको थियो भने ४ लाख रुपैयाँ काम थालेपछि उतै दिने भनिएको थियो ।

उनले कात्तिकको अन्तिमतिर कुमारी बैङ्कमा १ लाख रुपैयाँ जम्मासमेत गरेका थिए । तर, अहिलेसम्म पठाउने सुरसार नदेखिएपछि उनलाई आफू ठगिएको भन्ने लागेको थियो ।

यतिसम्म कि सङ्कलन गरिएका पासपोर्ट समेत कार्यालयमा नराखेर अन्त कतै लुकाइएको थियो । विभागको टोली अनुगमन गर्न जाँदा ४ झोलामा प्याक गरेर राखेको अवस्थामा पासपोर्ट भेटियो । त्यतिमात्र नभएर स्कुटरको डिकीबाट समेत पासपोर्ट बरामद गरिएको थियो ।

संस्थाका सञ्चालक भनिएका ४४ वर्षीय लालबहादुर लामा र सिइओ रोशन न्यौपाने विगत १५ दिनदेखि सम्पर्क विहीन छन् । लामा काठमाडौँको गोकर्णेश्वर-६ मा बस्दै आएका थिए ।

मलेसियाको पानी जहाज कम्पनीमा काम गर्न पाउने भनेर एक अर्का पीडितले ४ लाख ४० हजार रुपैयाँ बुझाइसकेका छन् ।

उनलाई सुरूमा २० दिनभित्रमा भिसा आइसक्ने बताएका थिए । तर, मलेसियामा कुनै पनि कम्पनीबाट २० दिनमा भिसा आउन नसक्ने बताएपछि सञ्चालक लामाले आफूले जसरी पनि २० दिनमा भिसा उपलब्ध गराउने र ढुक्क हुन आग्रह गरेका थिए । लामाको कुरामा विश्वस्त रहेका ती पीडितलाई २० दिन पुगेपछि पुनः १५ दिन पर्खिन भनियो । १५ दिनपछि डुप्लिकेट भिसाको फोटो खिचेर भिसा आइसकेको भनेर उनलाई पठाइयो ।

१५ दिनपछि अब १/२ दिनभित्रमा उड्नुपर्ने भन्दै आफ्नो कोठाको सामान बेच्न भनियो । आफ्नो कोठाका सबै सामान बेचेर उड्ने दिनको प्रतीक्षामा रहेका उनी अन्ततः ठगिएपछि अहिले बिचल्लीमा परेका छन् ।

वैदेशिक रोजगार विभागमा दर्ता समेत नरहेको उक्त संस्थाले समुन्द्री क्षेत्रमा काम लगाइदिने भन्दै प्रत्येक व्यक्तिबाट लाखौँ रुपैयाँ असुल गर्दै आएको थियो ।

अञ्जना केसीको घर भाडामा लिएर उक्त संस्थाले मर्चेन्ट नेभी सम्बन्धी तालिम दिने गरेको थियो । त्यही आधारमा विभिन्न देशमा काममा लगाइदिने भन्दै लाखौँ रुपैयाँ असुल गर्दै आएको पाइएको विभागका महानिर्देशक उमाकान्त आचार्यले बताए ।

विभागले छापा मारेपछि सञ्चालक लामा र सिइओ न्यौपाने फरार छन् । उक्त संस्थामा कार्यरत ४ जना कर्मचारीलाई नियन्त्रणमा लिइएको छ । पक्राउ परेका चारै जनालाई बानेश्वर प्रहरी वृत्तमा राखिएको छ । उनीहरूले उक्त संस्थाले के कस्तो काम गर्नेबारे आफूहरूलाई केही जानकारी नरहेको बयान दिएका छन् । जे काम गर्न लगायो, त्यही अनुसारको काम गर्दै आएको तर, थप केही जानकारी नभएको उनीहरूले बयान दिएका छन् ।

उक्त संस्थाले विभिन्न मुलुकमा आकर्षक रोजगारीको प्रलोभन देखाई लाखौँ रकम समेत असुल गरिरहेको भन्ने विशेष सूचनाको आधारमा विभागको अनुगमन टोली नेपाल प्रहरीको सहयोगमा पुगेको थियो । सोही क्रममा चेकजाँच गर्दा अवधै रूपमा राखिएका ९९७ थान पासपोर्ट तथा कागजात नियन्त्रणमा लिइएको महानिर्देशक आचार्यले बताए ।

त्यसरी पासपोर्ट बुझाएका अधिकांशले कम्तीमा १ लाख रुपैयाँ अग्रिम रूपमा बुझाएका छन् । काममा लगाइदिने भन्दै प्रत्येक व्यक्तिलाई ५ लाखभन्दा बढी रुपैयाँ लाग्ने बताउँदै एडभान्सको रूपमा १ लाख रुपैयाँ आफ्नो खातामा जम्मा गर्न लगाउने गरेको पाइएको हो । त्यसरी पैसा जम्मा गर्न लगाउँदा वैदेशिक रोजगारीसम्बन्धी कुनै पनि जानकारी उल्लेख गरिएको छैन ।

वैदेशिक रोजगार सम्बन्धी कानुन अनुसार कारबाही गर्न समस्या परेको खण्डमा ठगी कसुर अनुसार अनुसन्धान प्रक्रिया अगाडि बढाइनेछ । फरार रहेका दुवै जनामाथि अनुसन्धान गर्न विभागले प्रहरीलाई पत्र पठाउने तयारी गरेको छ ।

अहिले विभागमा बरामद गरिएका पासपोर्ट लिन आउनेहरूको भिड लागेको छ । उनीहरूले आफ्नो परिचय खुल्ने अन्य कागजातको आधारमा पासपोर्ट लिन सकिने विभागले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस