संघीय संसद्को पहिलो अधिवेशनको सम्पूर्ण तयारी पूरा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

संघीय संसद्को पहिलो अधिवेशनको सम्पूर्ण तयारी पूरा


२४ पुस २०७९, आइतबार


विकास र समृद्धि

काठमाडौँ । २५ पुस (भोलि) अपराह्न एक बजेका लागि आह्वान गरिएको संघीय संसद्को पहिलो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले संघीय संसद्को पहिलो अधिवेशनको सबै तयारी पूरा पूरा भएको जानकारी गराए।  

संघीय संसद अन्तरगतको प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको बैठक भोलि एकसाथ बस्दैछ। प्रतिनिधिसभा बैठकका लागि सर्वदलीय बैठक र राष्ट्रियसभा बैठकका लागि कार्य व्यवस्था परामर्श समितिको बैठक बसेर पहिलो अधिवेशनका लागि आवश्यक निर्णय गरिएको र सोही बैठकको निर्णय अनुसार संघीय संसद सचिवालयले आवश्यक व्यवस्था मिलाएको सहायक प्रवक्ता धमलाको भनाइ छ। 

संघीय संसद सचिवालयले सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुलाई दलीय प्रतिनिधित्वको आधारमा बस्न मिल्ने गरी सिटको व्यवस्था गरिएको पनि जानकारी गराएको छ। तर स्थान अभावका कारण सबै दलका संसदीय दलका नेताहरूलाई पहिलो लहरमा राख्ने गरी सिटको व्यवस्था भने गर्न नसकिएको सहायक प्रवक्ता धमलाले बताए। 

संघीय संसदमा १२ वटा राजनीतिक दलहरूको प्रतिनिधित्व छ। 

सचिवालयका अनुसार अधिवेशनमा सबै दलका संसदीय दलका शीर्ष नेताहरुले बोल्ने कार्यसूची तय गरिएको छ। संघीय संसदमा सांसदहरूले पनि इ-हाजिरी गर्ने व्यवस्था मिलाइएको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस