नेपाल टी-२० लिगमा स्पट फिक्सिङ भएको निष्कर्ष, फिक्सिङ बापत लिएका थिए यति रकम ! « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाल टी-२० लिगमा स्पट फिक्सिङ भएको निष्कर्ष, फिक्सिङ बापत लिएका थिए यति रकम !


२४ पुस २०७९, आइतबार


काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आयोजना गरेको फ्रेन्चाइज क्रिकेट नेपाल टी-२० लिगमा स्पट फिक्सिङ भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रारम्भिक निष्कर्ष निकालेको छ ।

९ पुसदेखि सुरु भएको प्रतियोगिता सुरुवातदेखि नै बेटिङ र फिक्सिङको चर्चा सुरु भएको थियो । प्रतियोगितामा देखिएका अस्वभाविक नतिजा र केही खेलाडीको अस्वभाविक प्रदर्शनबाट नै फिक्सिङका हल्लाहरू सुरु भएका थिए ।

गृहमन्त्री रवि लामिछानेले गत मङ्गलवार नेपाल टी-२० लिगमा भइरहेको भनिएको बेटिङ, सम्भावित फिक्सिङ र श्रम स्वीकृति विना विदेशी खेलाडी खेलाएकोबारे अनुसन्धान गर्न सीआईबीलाई निर्देशन दिएका थिए ।

प्रारम्भिक अनुसन्धानअनुसार तीनजना नेपाली र ४ जना विदेशी खेलाडीले स्पट फिक्सिङ गरेको पाइएको छ । बेटिङ र फिक्सिङमा नेपाल टी-२० लिगको व्यापारिक तथा रणनीतिक साझेदारीसहित सञ्चालन अधिकार पाएको विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसको संलग्नता भएको सङ्केत मिलेको सीआईबी उच्च श्रोतले जनाएको छ ।

बेटिङ र फिक्सिङको चर्चा धेरै हुन थालेपछि सञ्चालन अधिकार पाएको सेभेन थ्रीका मालिक जतिन अहुवालिया गत सोमबार नै भारत पुगेका थिए । उनी भागेको भन्दै नेपाल क्रिकेट सङ्घ (क्यान)ले सम्झौता खारेजीको प्रक्रिया सुरु गर्ने बताएको थियो ।

सीआईबीले शङ्कामा रहेका खेलाडीहरूसँग बयान लिइसकेको छ । प्रतियोगिताका सुरुका केही खेलहरूमा फिक्सिङ भएको पाइए पनि धेरै हल्ला हुन थालेपछि पछिल्ला खेलहरूमा फिक्सिङ नभएको श्रोतले जनायो ।

एउटा खेलाडीले एउटा खेलमा स्पट फिक्सिङ गरेबापत १० लाखभन्दा कम लिने गरेको अनुसन्धानमा पाइएको श्रोतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस