सार्कलाई सक्रिय बनाउन प्रयत्न गरिरहेका छौँ : परराष्ट्र सचिव पौडेल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सार्कलाई सक्रिय बनाउन प्रयत्न गरिरहेका छौँ : परराष्ट्र सचिव पौडेल


२४ पुस २०७९, आइतबार


काठमाडौँ। परराष्ट्र मन्त्रालयले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लाई सक्रिय बनाउनका लागि प्रयत्नहरू जारी रहेको जनाएको छ ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले अध्यक्ष राष्ट्रको हैसियतले नेपालले सार्कलाई सक्रिय बनाउन प्रयत्न गरिरहेको बताएका हुन् ।

आइतबार संघीय संसद राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सिंहदरवारमा बसेको बैठकमा बोल्दै उनले सबै सदस्य राष्ट्रहरुबीचको सहमती जुट्न नसकेको कारण यसलाई सक्रिय बनाउन नसकिएको स्पष्टीकरण समेत दिए ।

सचिव पौडेलले सबै सदस्य राष्ट्रहरूको सहमतिमा मात्रै सार्कलाई अघि बढाउन सकिने आधारभूत सिद्धान्त रहेको र त्यसैकारण सार्कलाई सक्रिय बनाउने प्रयास नतिजामुखी हुन नसकेको स्मरण गराए ।

उनले भने, ‘सार्कमा अध्यक्ष राष्ट्रको भूमिका छुट्टै केही पनि हुँदैन। हामी त ८ वटा मध्ये एउटा मात्रै हौँ । त्यस कारणले गर्दाखेरी यसमा प्रयत्न भइराखेको छ । रिजल्ट आएको नदेखिएको हुनाले हामीलाई प्रगति नभएको जस्तो लागेको हो । यो स्वभाविक पनि हो । मैले सार्क प्रोसेस किन अगाडि बढ्ने भन्दाखेरी चार्टरले डिफाईन गरेको त्यो प्रोसेसले गर्दाखेरी यो सक्रिय हुन नसकेको हो भन्ने कुरा यहाँहरू समक्ष राखेको हुँ ।’

सार्कमा नेपाल, भारत, भुटान, बङ्गलादेश, मालदिभ्स, पाकिस्तान, श्रीलङ्का र अफगानिस्तान सदस्य राष्ट्रहरू रहेका छन्। ती सबै सदस्य राष्ट्रहरूको सहमतिमा मात्रै सार्कलाई सक्रिय बनाउन सकिने परराष्ट्र सचिव पौडेलको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस