संसदीय गतिविधिलाई प्राथमिकतामा राख्न ओलीको निर्देशन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

संसदीय गतिविधिलाई प्राथमिकतामा राख्न ओलीको निर्देशन


२३ पुस २०७९, शनिबार


काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवम् पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय गतिविधिमा सहभागी हुने कुरालाई पहिलो प्राथमिकतामा राख्न पार्टीका नवनिर्वाचित सांसदहरुलाई निर्देशन दिएका छन्।

पार्टी संसदीय दलको बैठक र अन्य सबै संसदीय गतिविधिहरूको कामलाई प्राथमिकता दिएर अघि बढ्न अध्यक्ष ओलीले पार्टीका सांसदहरुलाई सचेत समेत गराए। शनिवारबाट काठमाडौँमा सुरु भएको पार्टीका सांसदहरूको २ दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले सांसद भएको हुनाले संसदीय गतिविधिको काममा ध्यान दिएर अघि बढ्न पार्टीका सांसदहरु केन्द्रित हुनुपर्ने बताए।

पार्टी संसदीय दलको बैठकमा र अन्य गतिविधिहरूमा पनि समयमै पुग्ने काम गर्नुपर्ने अध्यक्ष ओलीको भनाई थियो। उनले भने, ‘हामीले कुनै पनि कार्यक्रममा समयमा आउने र समय भरी बस्ने र खास गरी हामी सांसदहरुलाई संसदीय अभ्यासमा संसद्को बैठकमा भाग लिन नभ्याउने, संसद्को काममा भाग लिन नभ्याउने, प्रशिक्षणको कार्यक्रममा भाग लिन नभ्याउने, अरू बाहिरबाहिर भ्याउने भन्ने कुरा हुँदैन। कहिले कहिले नभ्याउने परिस्थिति पनि पर्न सक्छ। तर आम रूपमा भन्ने हो भने हामी जनप्रतिनिधि हौँ, हामी सांसद हौँ। र, हामीले सांसदको हैसियतले गर्नुपर्ने कामलाई प्राथमिकता दिनु पर्दछ। संसदीय दलको बैठक जति बजे बोलायो, त्यति बजे उपस्थित हुनु पर्दछ। संसदीय अन्य गतिविधिहरूमा जति बजे बोलाइएको छ, त्यति बजे उपस्थित हुनु पर्छ। समय सीमाको पालना गर्नु पर्दछ। त्यसमा सबै साथीहरूले ध्यान दिनु पर्दछ।’

अध्यक्ष ओलीले सांसदहरूले समय सीमालाई हेक्का राखेर अघि बढ्नुपर्ने समेत बताए।

Tags :
प्रतिक्रिया दिनुहोस