भेडापालन छोडेर जनसेवामा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

भेडापालन छोडेर जनसेवामा


२३ पुस २०७९, शनिबार


ढोरपाटन । आजभोलि दिनहुँ जसो तमानखोला गाउँपालिकाको कार्यालय परिसरमा शिरमा निलो छाते टोपी, जीउमा हापदुला (भेडाको ऊनबाट बनेको कपडा) भिरेको युवा देखिन्छन् । उनी गाउँपालिकामा आउने नागरिकलाई कार्यालयको ढोकैमा स्वागत गर्दै समस्या बुझ्ने र काममा सहयोग गर्छन् । उनको कामले गाउँपालिका आउने सेवाग्राही पनि खुसी देखिन्छन् । उनी तमानखोला गाउँ कार्यपालिका सदस्य ढालेन्द्र छन्त्याल ।

छन्त्याल एक वर्ष अगाडिसम्म दर्जनौँ भेडा बाख्रासँग लेक बेँसीमा भेटिन्थे तर अहिले उनी गाउँपालिकाको कार्यालयमा भेटिन्छन् । ३९ वर्षीय छन्त्याल गत स्थानीय निर्वाचन हुँदासम्म भेडी गोठाले थिए । स्थानीय निर्वाचनमा कार्यपालिका सदस्यमा निर्वाचित भएपछि उनी भेडापालन छोडेर राजनीतिमा होमिएका छन् । सानैदेखि राजनीतिमा चासो राख्ने छन्त्याल स्थानीय तह निर्वाचन २०७४ मा वडा सदस्यमा पराजित भएका थिए । वडा सदस्यमा हारेपछि छन्त्यालले निरन्तर भेडा पालनमै होमिए ।

गत स्थानीय तहको निर्वाचनपछि जनताको सेवा गर्ने हुटहुटीले गर्दा व्यवसाय छोडेर राजनीतिमा होमिएको छन्त्याल बताउछन् । उनले बाउबाजेले गरेको पेसालाई आफूले पनि निरन्तरता दिँदै आएकोमा अहिले छाडेर राजनीतिमा लागेको बताए । छन्त्यालले नेता कार्यकर्ताले यस पटक कार्यपालिका सदस्यमा आउन जोड गरेको र आफ्नो पनि रुचि भएको हुँदा भेडापाल्न छोडेर राजनीतिमा आएको बताउछन् ।

उनले कार्यपालिका सदस्य भएपछि भेडा पाल्ने समय नहुँने हुँदा सबै बेचेर जनसेवामा लागेको बताउछन्। छन्त्याल भन्छन्, ‘मैले अघिल्लो वर्षसम्म थुप्रै भेडा पालेको थिए, भेडा लिएर धेरै टाढा–टाढासम्म पुग्ने गर्थे, अहिले कार्यपालिका सदस्य भएपछि पालिका आउँदा भेडा भोकै हुन्छन्, भेडा चराउन जाँदा पालिकाको काम छुट्ने हुँदा भेडा पाल्नै छोडेर यता लागेको छु ।’

छन्त्याल स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट सदस्यमा निर्वाचित हुनु भएको हो । उनी हाल तमानखोला गाउँपालिकाको आर्थिक विकास समितिको संयोजकसमेत छन्। तमानखोला गाउँपालिका-२ का छन्त्याल १६ वर्षकै उमेरमा बिदेसिएका थिए । कतार र दुबईमा आधा दशक बढी बिताएको छन्त्याल बताउछन् । विदेशबाट आएर भेडापालनमा लागेका छन्त्यालले अहिले जनताको सेवा गर्न पाउँदा खुसी लागेको बताउछन् ।

‘म सामान्य परिवारको मान्छे हुँ, गाउँमा गरिबी, अशिक्षा, बेरोजगारी छ, हाम्रो समाज विकासले पछाडि परेको अवस्था छ, यसलाई बदल्न म राजनीति गर्न थालेको हुँ, मलाई कुनै व्यक्तिगत स्वार्थ छैन, सुरुको चुनावमा के कमीकमजोरी भएछ, चुनाव जित्न सकिएन’, उनले भने, ‘अहिले मलाई जनताले पत्याए, सेवा गर्ने अवसर मिल्यो, इमान्दारिताका साथ काम गर्छु ।’

उनले भेडापालनबाट वार्षिक रु पाँच लाखसम्म कमाउँदा नमिलेको खुसी अहिले आम्दानी नहुँदा पनि खुसी मिलेको बताए । छन्त्यालका घरमा बुबाआमा, दुई छोराछोरी र श्रीमती छन्। श्रीमतीले स्थानीय विद्यालयमा शिक्षण गर्ने हुँदा परिवार चलाउन त्यति समस्या नभएको छन्त्याल बताउछन् ।

छन्त्याल भन्छन्, ‘पहिले वार्षिक लाखौँ आम्दानी हुँदा पनि ठिकै थियो, अहिले आम्दानी छैन र पनि दैनिकी चलेको छ, मैले जनताको सेवा गरेको छु, समाज परिवर्तन गर्नुछ, आर्थिक अभाव त भइनै हाल्छ तर पनि व्यवस्थापन गर्ने हो ।’

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले छन्त्याल पालिकाको काममा सक्रिय भएर लाग्ने गरेको बताए । छन्त्यालले पालिकाका योजना र कार्यक्रममा पहिले देखिनै चासो राख्ने र सहभागी हुँदै आएको भन्दै अहिले निर्णय गर्ने स्थानमा आइपुगेको अध्यक्ष बुढामगर बताउछन् ।

‘बेलाबेला पालिकामा आएर यहाँका योजना तथा कार्यक्रमका बारेमा चासो दिने र सोधखोज गर्ने गर्नुहुन्थ्यो’, अध्यक्ष बुढामगरले भने, ‘उहाँको राजनीतिप्रतिको लगाव र चिन्तन बढी छ, पालिकामा भएको आफ्नो जिम्मेवारी अहिलेसम्म कुशलतापूर्वक गर्दै आउनुभएको छ, हामीहरू सिक्ने सिकाउने क्रममै छौँ ।’

गाउँपालिकामा सेवा लिन आएका नरज रमाइलीले छन्त्याल जनताको सहयोगी बनेको बताए । छन्त्यालले पालिकामा आउने सबै सेवाग्राहीलाई समान व्यवहार गर्ने गरेको रसाइलीको भनाइ छ । उनले भने, ‘सेवाग्राही सबै जाने बुझेका हुँदैनन्, उनले कुन शाखाको के काम हो, पालिकामा हुने हो की होइन, त्यो सबै बताइदिने र आफूले गर्ने काम भए छिटोछरितो गरी दिन्छन्, उदको त्यो व्यवहार देख्दा अरू कर्मचारी र जनप्रतिनिधि यस्तै भए जनताले दुःख पाउँदैनथे होलाजस्तो लाग्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस