आफू मात्र आधिकारिक भएको तेक्वान्दो सङ्घको दाबी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आफू मात्र आधिकारिक भएको तेक्वान्दो सङ्घको दाबी


२२ पुस २०७९, शुक्रबार


काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा दर्ता खारेजीविरुद्ध उच्च अदालत पाटनबाट अन्तरिम आदेश पाएको नेपाल तेक्वान्दो सङ्घले तेक्वान्दोको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधिमा आफूहरुमात्र आधिकारिक रहने जनाएको छ ।

विश्व तेक्वान्दो महासङ्घको सम्बन्धन रहेको नेपाल तेक्वान्दो सङ्घले अदालतको आदेशसँगै राष्ट्रिय टिम तयारी, अन्तर्राष्ट्रिय सहभागिता, रेफ्री सेमिनार, प्रशिक्षण कोर्षलगायतका गतिविधि आफू मातहत रहने बताएको हो ।

सङ्घको केन्द्रीय कार्यालय सात दोबाटोमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा खेलकुद मन्त्रालय र राखेपको कदमबाट सङ्घ, समग्र तेक्वान्दो खेलाडी, डोजाङ, प्रशिक्षकलगायतलाई परेको समस्यामा अदालतले न्याय दिएको जानकारी दिएको हो ।

उच्च अदालतमा जारी मुद्दाको अन्तिम फैसला नआउन्जेलसम्म सबै सहयोग गर्न आफूहरू तयार रहेको सङ्घले जनाएको छ ।

राखेपको कदमबाट सङ्घलाई परेको पीडादायी क्षणलाई कहिल्यै नबिर्सिने भन्दै तेक्वान्दोको विकासका लागि खेलकुद मन्त्रालय र राखेपसँग हातेमालो गर्दै अघि बढ्न सधैँ तयार रहेकोसमेत सङ्घले बताएको छ ।

तेक्वान्दोमा दुई सङ्घको विवाद रहेको भन्दै खेलकुद परिषद्ले ५ पुसमा नेपाल तेक्वान्दो सङ्घ र राष्ट्रिय तेक्वान्दो सङ्घको दर्ता खारेज गरी नेपाल तेक्वान्दो महासङ्घ गठन गरेको थियो ।

गत साउनमा राखेप बोर्ड बैठकले उपाध्यक्ष शिव कोइरालाको संयोजकत्वमा खेल सङ्घ विवाद समाधान समिति बनाएसँगै सोही समितिको प्रतिवेदनलाई २४ मंसिरमा तत्कालीन खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराजले सदर गरेका थिए । आफ्नो दर्ता खारेजीविरुद्ध तेक्वान्दो सङ्घले ८ पुसमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो ।

११ पुसमा प्रारम्भिक सुनुवाइपछि अदालतले अल्पकालीन आदेश दिएको थियो ।

बुधबार सबै पक्षसँगको छलफलपछि न्यायाधीशद्वय श्यामजी प्रधान र दीपेन्द्र अधिकारीको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिँदै २४ मंसिरको मन्त्री स्तरीय निर्णय र ५ पुसको राखेपको निर्णयलाई यथास्थितिमा राख्न आदेश दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस