माओवादीले माग्यो काँग्रेससँग विश्वासको मत, नेताहरू छलफलमा  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

माओवादीले माग्यो काँग्रेससँग विश्वासको मत, नेताहरू छलफलमा 


२१ पुस २०७९, बिहिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पक्षमा काँग्रेससँग विश्वासको मत मागेको छ । 

माओवादीका नेताहरूले काँग्रेस सभापति शेरबहादुर देउवा र अन्य दोस्रो तहका नेताहरूलाई छुट्टाछुट्टै भेटेर विश्वासको मत दिन आग्रह गरेका हुन् । भेटका क्रममा माओवादीका नेताहरूले सरकारलाई पुस २६ गते बस्ने संसद बैठकमा विश्वासको मत दिन र राष्ट्रिय सहमतिको सरकार बनाउनेतर्फ अग्रसर हुन आग्रह गरेका हुन् । 

स्रोतका अनुसार माओवादी केन्द्रका नेता जनार्दन शर्मा बुधवार देउवालाई भेट्न उनको निवास धुम्बाराही पुगेका थिए । सो क्रममा उनले प्रचण्डलाई विश्वासको मत दिन आग्रह गर्दै राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि अग्रसर हुन आग्रह गरेका थिए । यसबारे पुष्टि गर्दै नेता शर्माले आफूले प्रचण्डलाई मत दिन काँग्रेस सभापतिलाई आग्रह गरेको बताए । 

बिहीबार मात्रै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि देउवालाई धुम्बाराहीमा पुगेर भेटेका थिए । यादवले पनि प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिन आग्रह गरेको काँग्रेसका नेताहरूको भनाइ छ । सो क्रममा यादवले आफ्नो पार्टीले पनि प्रचण्डलाई विश्वासको मत दिने र सबै मिलेर अघि बढ्दा नै राम्रो हुने धारणा राखेका थिए । 

यस्तै प्रस्ताव माओवादीका नेताहरूबाट काँग्रेसका दोस्रो तहका नेताहरूसम्म पनि पुगेपछि उनीहरू छलफलमा जुटेका छन् । स्रोतका अनुसार बिहीबार अपराह्न काँग्रेसका दोस्रो तहका नेताहरू ललितपुरको जावलाखेलस्थीत एक घरमा बैठक बसेका छन् । सो बैठकमा माओवादीको प्रस्ताव आइसकेपछि कसरी अघि बढ्ने भनेर छलफल भएको बुझिएको छ । उसो त देउवाले आजै आफू निकटस्थ शीर्ष नेताहरूसँग पनि यसबारे परामर्श गरेको बुझिएको छ । 

प्रधानमन्त्री प्रचण्डले पुस २६ गते संसदबाट विश्वासको मत लिने कार्यक्रम छ । 

Tags :
प्रतिक्रिया दिनुहोस