सिद्धार्थनगरमा साँढे घिसारेको फोटो भाइरल भएपछि … « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सिद्धार्थनगरमा साँढे घिसारेको फोटो भाइरल भएपछि …


२१ पुस २०७९, बिहिबार


रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा साँढे घिसारेको फोटो सामाजिक संजालमा भाइरल भएपछि नगर प्रमुख इस्तियाक अहमद खानले यसबारे अनावश्यक हल्ला फैलाएको दाबी गरेका छन् । भाइरल भएजस्तो घटना नभएको, तर यदि कोही दोषी देखिएमा कारबाही गर्ने उनको भनाइ छ ।

बुधवार बेलुकी लु १ ग ३६२ नम्बरको ट्रकको पछाडि बाँधेर साँढेलाई घिसार्न लागेको फोटो सार्वजनिक भएपछि यसको चौतर्फी आलोचना भइरहेको छ । मेयर खानले भने फोटो भाइरल भएजस्तो घटना नभएको दाबी गरेका छन् ।

‘हामीले छाडा पशु चौपायालाई व्यवस्थित गर्न एउटा गैरसरकारी संस्थासँगको समन्वयमा काम गर्दैछौँ, त्यही अभियान अन्तर्गत सडकमा त्यसै छोडिएका गाई गोरुलाई आश्रममा लैजान खोजिएको थियो । त्यसै क्रममा साँढे ‘हेभी’ भएपछि बाँधेर बिस्तारै बिस्तारै लैजान खोज्दा सडकमा बसेको थियो । त्यही फोटो खिचेर अनावश्यक हल्ला चलाइयो’ उनले भने ।

उनका अनुसार छाडा पशु चौपायाका कारण दुर्घटना बढेपछि उनीहरूको व्यवस्थापन र संरक्षणका लागि बुटवल आसपासको जङ्गलमा आश्रम बनाइएको छ । त्यहीँ आश्रममा गैर सरकारी संस्थाले यस्ता पशु चौपायाको संरक्षण गर्दै आएका छन्।

सिद्धार्थ नगरपालिकाका १ सय २५ वटा गाईगोरु गरी पनि यही आश्रममा लगेर राखिएको छ । तर, साँढेलाई लैजाने क्रममा समस्या भएको उनले बताए । उनले घटनाबारे आफूले छानबिन गर्ने र दोषी पाइए कारबाही गर्ने बताएका छन् । ‘कसैले पनि यसरी बाँधेर पशुलाई घिसार्दै लैजाँदैन, के भएको रहेछ हामी बुझ्दैछौँ’ उनले भने।

Tags :
प्रतिक्रिया दिनुहोस