नेपाल टी-२० लिगको छानबिनका लागि राखेपद्वारा पाँच सदस्यीय समिति गठन  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेपाल टी-२० लिगको छानबिनका लागि राखेपद्वारा पाँच सदस्यीय समिति गठन 


२० पुस २०७९, बुधबार


काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा भइरहेको नेपाल टी-२० लिगमा देखिएको विवादबारे राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले छानबिन गर्ने भएको छ । 

राखेपले बुधबार एक विज्ञप्तिमार्फत प्रतियोगिताका लागि विदेशी खेलाडीको श्रम स्वीकृतिका साथै प्रतियोगिताको सञ्चालनको सम्बन्धमा क्यानसँग आवश्यक प्रमाण र कागजात माग गरे पनि त्यसको बेवास्ता गरेको र पछिल्लो समय लिगमा विसङ्गति देखिएको भन्दै यसको छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरिएको जनाएको छ ।

राखेपले कार्यकारी समितिका सदस्य एकेन्द्रबहादुर कुँवरको संयोजकत्वमा छानबिन कार्यदल गठन गरेको हो । कार्यदलको सदस्यमा राखेपका सदस्य प्रकाशकुमार कुमारी, वरिष्ठ खेलकुद पत्रकार निरञ्जन राजवंशी, खेलकुद विकास विभागका प्रशासकीय अधिकृत सरोजकुमार पोख्रेल र प्रशासन विभागका प्रशासकीय अधिकृत भोजानन्द राई छन् । 

पुस ८ गतेदेखि सुरु भएको लिगका लागि रणनीतिक सहयोगीको रूपमा रहेको भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौतालाई लिएर नै विवाद सुरु भएको थियो । र, मङ्गलवार लिगमा सम्बन्धित व्यक्तिले नै आफूले ‘स्पट फिक्सिङ’को अनुभव गरेको बताएपछि लिग अझै विवादमा तानिएको थियो । 

लिगको सुरुआतदेखि नै कमेन्ट्री टिममा रहेका सचिन तिमल्सिनाले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै आफूले लिगमा स्पट फिक्सिङको अनुभव गरेको बताउँदै प्रतियोगिताबाट आफू अलग्गिएको बताएका थिए ।

यस्तै, लिगको रणनीतिक सहयोगीको रूपमा रहेको भारतीय कम्पनी सेभेन थ्री स्पोट्र्स सम्पर्कविहीन भएको, लिग खेलिरहेका क्लबहरूमध्ये केही क्लबका प्रतिनिधिहरू पनि सम्पर्कमा नआएको र खेलाडीले पारिश्रमिक नपाएको जस्ता कुराहरू सार्वजनिक भएपछि गृह मन्त्रालयले समेत यस विषयमा छानबिनका लागि प्रहरीलाई पत्र काटिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस