निहारिकाको मुद्दामा डिएनए जाँच गरेका विज्ञ झिकाउन आदेश « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

निहारिकाको मुद्दामा डिएनए जाँच गरेका विज्ञ झिकाउन आदेश


२० पुस २०७९, बुधबार


काठमाडौँ । महोत्तरी जलेश्वरकी निहारिका सिंह राजपूत (कुमारी आमा)को मुद्दामा डिएनए जाँच गरेका विज्ञ झिकाउने आदेश भएको छ । बुधबार उच्च अदालत जनकपुरका न्यायाधीश विष्णुप्रसाद कोइराला र सागर विष्टको संयुक्त इजलासले डिएनए जाँच गरेका विज्ञ झिकाउने आदेश दिएको हो ।

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारबाट निहारिकाको बच्चा र आरोपित महेन्द्रनगरका शिवराज श्रेष्ठसँग गत कार्तिक १८ गते ९९.९ प्रतिशत डिएनए मिलेको रिपोर्ट अदालतमा प्राप्त भएको थियो । अदालतले गत साउन ८ गते डिएनए जाँच गर्नको लागि आदेश दिएको थियो । 

बुधबार तीन नम्बर इजलासमा बहस भएको थियो । जाहेरीवालाको तर्फबाट वरिष्ठ अधिवक्ता सुनिता पोखरेल, अधिवक्ता शान्ति रिजाल, रिंकुकुमारी यादव र सहन्यायधिवक्ता यदुनाथ शर्माले बहस गरेका थिए । प्रतिवादीको तर्फबाट वरिष्ठ अधिवक्ता श्याम मिश्रले बहस गरेका थिए । 

अगामी माघ १० गते विज्ञलाई अदालतमा झिकाएर बकपत्र हुने जाहेरीवालाको वकिल रिंकुकुमारी यादवले जानकारी दिइन् । उनका अनुसार विज्ञको बकपत्रपछि अर्को पेसी तोकिन्छ । त्यही अन्तिम पेसी भएर फैसला आउने सम्भावना छ । 

निहारिकाले जिल्ला अदालत धनुषामा जबरजस्ती करणी भएको मुद्दा दिएकी थिइन् । अदालतले ०७८ माघ २४ गते जबरजस्ती करणी नभएको फैसला सुनाएको थियो । 

जिल्ला अदालतको फैसलाबाट चित्त नबुझेको भन्दै निहारिकाले ०७८ फागुनमा उच्च अदालत जनकपुरमा पुनरावेदन दिएकी थिइन् । उच्च अदालतले तोकिएको पेसी सुनुवाइ नगरेको र प्रतिवादीसँग अदालत मिलेको भन्दै उनले काठमाडौंमा दोस्रोपटक आमरण अनशन सुरु गरेकी थिइन् । 

अनसनकै क्रममा निहारिकाले राष्ट्रपति भवन अगाडि आत्मदाह गर्ने प्रयास गरेपछि मुद्दा फास्ट्रयाकमा अघि बढेको थियो । तर, पुनः उनको मुद्दा लम्ब्याउने काम भइरहेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस