अब नवलपुरबाट चितवन निकुञ्जभित्र जङ्गल सफारी खोलिँदै « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

अब नवलपुरबाट चितवन निकुञ्जभित्र जङ्गल सफारी खोलिँदै


२० पुस २०७९, बुधबार


मध्यविन्दु । पर्यटनको प्रचुर सम्भावना रहेको नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारी ‘ट्र्याक’ खोलिने भएको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)बाट जान मिल्ने गरी पहिलो पटक चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारी ट्र्याक खोल्न लागिएको हो ।

हालसम्म जिल्लाका मध्यवर्ती सामुदायिक वनहरूमा जङ्गल सफारी हुने गरे पनि पहिलो पटक निकुञ्जको कोर एरियामा सफारी गर्ने प्रबन्ध गर्न लागिएको छ ।

जङ्गल सफारी ट्र्याक जिल्लाको सिख्रौली मध्यवर्ती क्षेत्र, शिसवार मध्यवर्ती क्षेत्र, लामिचौर मध्यवर्ती क्षेत्रमा पर्नेछ । यसले गैँडाकोट नगरपालिका, देवचुली नगरपालिका र कावासोती नगरपालिकालाई छुने देवचुली नगरपालिका प्रमुख हरिप्रसाद न्यौपानेले बताए । ट्र्याक निर्माणका लागि चितवन राष्ट्रिय निकुञ्ज, होमस्टे तथा होटेल एसोसिएसन नवलपुर, देवचुली नगरपालिकाको आर्थिक र शिसवार मध्यवर्ती उपभोक्ता समितिको प्राविधिक सहयोग रहने जनाइएको छ ।

‘नवलपुरको पर्यटन प्रवर्द्धनमा यसले मुख्य भूमिका खेल्नाका साथै यो ठाउँको पहिचानका लागि ठुलो अवसरका रूपमा नगरले लिएको छ’, नगरप्रमुख न्यौपानेले भने, ‘पर्यटकीय क्षेत्रमा निकै सम्भावना बोकेको देवचुली डाँडादेखि सिजी शाश्वतधाम र नारायणी नदीमा पर्यटकहरूलाई रमणीय स्थल घुमाउनका निम्ति नगरपालिकाले विशेष योजना बनाएको छ ।’

पर्यटनको प्रचुर सम्भावना रहेको यस क्षेत्रलाई यसै वर्ष पर्यटकीय क्षेत्र घोषणा गर्ने तयारी गरिएको देवचुली नगरपालिका–१७ का वडाध्यक्ष गणेश शर्मा चालिसेले बताए । ‘जङ्गल सफारीको बाटो निर्माणको सुरुआतमा रहेको र आगामी माघ ५ गते हुने चौथो देवचुली महोत्सवबाट पर्यटकलाई जङ्गल सफारी गर्ने व्यवस्था गरिनेछ’, चालिसेले भने ।

पर्यटकीय क्रियाकलापलाई अगाडि बढाउनाले यहाँका बस्तीको आर्थिक जीविकोपार्जनका लागि नयाँ सुरुआत हुने शिसवार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर पाण्डेले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस