काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी आरिफ शेखले सन्दीप लामिछानेलाई चाँडो न्याय दिन माग गरेका छन् ।
उनले बुधवार सामाजिक सञ्जालमार्फत सन्दीपका लागि न्याय मागेका हुन् ।
उनी लेख्छन्, ‘न्यायले हरेक मानिसलाई एकनासले हेर्छ । यो सदा सर्वदा उस्तै हुन्छ । मरेको मान्छे न्यायका लागि रुन सक्दैन । बाँचेको मान्छेको जिम्मा हुन्छ उनीहरूको न्यायका लागि लड्ने । सन्दीपले चाँडै न्याय पाओस् र एक देशभक्त व्यक्तिले फेरि राष्ट्रलाई गौरवान्वित गर्न सकोस् भन्ने मेरो कामना छ ।’
नाबालिकालाई बलात्कारको आरोप लागेपछि सन्दीप पुर्पक्षका लागि थुनामा छन् । जिल्ला अदालत काठमाडौँले गत कात्तिक १८ गते उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । सो आदेश अनुसार उनलाई केन्द्रीय कारागारमा राखिएको छ ।
जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै उनले उच्च अदालत पाटनमा पुनरावेदन दिएका छन् । यसअघि पुस १४ गते उनको निवेदनको पेसी तोकिएकोमा हेर्न नभ्याइनेमा परेको थियो ।
गत भदौ २१ गते एक नाबालिकाले सन्दीपविरुद्ध गौशाला प्रहरीमा जाहेरी दिएकी थिइन् । त्यतिबेला क्यारेबियन लिग खेल्न जमैका पुगेका लामिछाने २० असोजमा नेपाल फर्किएका थिए । उनलाई सोही दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।