कालिका नगरपालिकाद्वारा पत्रकारको दुर्घटना बीमा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कालिका नगरपालिकाद्वारा पत्रकारको दुर्घटना बीमा


१८ पुस २०७९, सोमबार


chitwan-kalika nagarpalika_patrakar-bima

काठमाडौँ । चितवनको कालिका नगरपालिकाले नेपाल पत्रकार महासङ्घ चितवन शाखाका सदस्यहरूको रु. १० लाखको दुर्घटना बीमा गर्ने भएको छ ।

नगरपालिका र महासंघबीच दुर्घटना बीमा सम्बन्धी सम्झौता पत्रमा आज एक कार्यक्रमकाबीच हस्ताक्षर गरिएको छ । नगरप्रमुख विनोद रेग्मी र महासङ्घ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । नगरपालिकाले पत्रकार सामूहिक दुर्घटना बीमा कार्यविधि २०७९ निर्माण गरी कार्यपालिका बैठकबाट अनुमोदन गरेर आज महासङ्घसँग सम्झौता गरेको हो ।

आगामी दिनहरूमा बीमा कार्यक्रमलाई निरन्तरता दिने गरी कार्यविधि बनाएर व्यवस्थित गरिएको नगरप्रमुख रेग्मीले जानकारी दिए । कार्यविधिमा बीमाका लागि नगरप्रमुख संयोजक रहने गरी समिति निर्माण गरिएको छ । महासङ्घका अध्यक्ष समेत समितिमा रहने गरी कार्यविधि बनाइएको नगरप्रमुख रेग्मीले बताए । आज सम्झौता भएसँगै पत्रकारहरूको बीमा प्रक्रिया अघि बढ्ने र केही दिन भित्रै महासङ्घका सदस्यहरूको बीमा हुने रेग्मीले बताए । 

कालिका नगरपालिकाले यसअघि गत आर्थिक वर्षमा पत्रकारको रु. सात लाखको दुर्घटना बीमा गराएको थियो । अघिल्लो वर्ष रु. ३ लाखको दुर्घटना बीमा गरिएको थियो ।

नगरपालिकाले कार्यविधि नै बनाएर आगामी दिनमा पत्रकारहरूको रु. १० लाखको दुर्घटना बीमा गर्न लागेको हो । 

Tags :
प्रतिक्रिया दिनुहोस