विकास थपिँदै, बस्ती रित्तिँदै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

विकास थपिँदै, बस्ती रित्तिँदै


१८ पुस २०७९, सोमबार


गलकोट । बागलुङ नगरपालिका–८ सिगानामा ट्रयाक खोलेको १५ वर्ष पछि सडक कालोपत्र हुँदैछ ।

अहिले टोल टोलमै यातायातका साधन पुग्छन् भने एक घण्टामै जिल्ला सदरमुकाम बागलुङ बजार पुग्न सकिन्छ । स्वास्थ्य चौकीको पहुँच नपुगेको सिगानाकै माथिल्लो क्षेत्र बौडैचौरमा शहरी स्वास्थ्य केन्द्रसमेत स्थापना भएको छ भने ‘एक घर, एक धारा’ निर्माणलेसमेत तीव्रता पाएको छ ।

सिगानाको उपल्लो भाग बौडैचौरलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने गरी बजेट व्यवस्थापन भइरहेको छ भने अबको दुई वर्षमा उक्त स्थानमै सडक कालोपत्र पुग्नेछ । तर सिगानामा विकास निर्माणले तीव्रता पाए पनि बसाइसराइका कारण बस्ती भने क्रमशः खाली हुँदै गइरहेका छन् ।

बागलुङ नगरपालिका–८ सिगानाको उपल्लो लामा चौरमा ३० घरमध्ये १२ घर रित्तै छन् । लामस्चौरको कार्की थर, बाहुन थर र थापा थरका ३० घरमध्ये अधिकांशको सहर बजारमा घरसमेत छ । अधिकांश घर चाडपर्वमा मात्रै खुला हुने गरेका छन् । सिगानामा सबैभन्दा कम बसाइसराइ लामीचौरको दलित बस्तीमा र बढी बसाइसराइ उपल्लो लामीचौरमा रहेको स्थानीय शिक्षक कर्णबहादुर कार्कीले जानकारी दिए ।

‘उपल्लो लामीचौरको कार्की, बाहुन र थापा थरमा ३०र३५ घर छन्, जसमध्ये १०र१२ घर त पूर्णरुपमा नै रित्ता छन्, केही घर चाडपर्वमा मात्रै खुल्छन् भने केही घरमा मात्रै मानिसको बसोबास छ’, कार्कीले भने, ‘सडक र माध्यामिक विद्यालय दैलोमै छ, खानेपानीको लागि काम थालिएको छ, वडा कार्यालयसम्म कालोपत्र सडक आउने भएको छ तर यहाँको बस्ती भने क्रमशः रित्तिँदै छ ।’

सिगानाको दुर्गम क्षेत्र मानिएको बौडेचौरले विकासमा मुहार फेरे पनि बसाइसराइ भने नरोकिएको सिगानाका निवर्तमान वडाध्यक्ष जीतबहादुर जिसीले बताए । पाँच वर्षमा बौडैचोरका जम्मा ११ घरमध्ये तीन घर बन्द छन् । तर पछिल्लो समय बौडैचौरमा सहरी स्वास्थ्य केन्द्र स्थापना भएको छ । सडक कालोपत्रका लागि धमाधम काम भइरहेको छ । खानेपानीको व्यवस्थापन भएको छ भने दलौमै नर्सिङ सेवासहितको विद्यालयसमेत रहेको छ । विकास थपिँदै जाँदा बस्ती बिस्तार हुनुपर्नेमा बिस्तारै बस्ती खाली हुने अवस्थामा पुगेको उनको भनाइ छ । ‘हामीले विकास त भित्र्याएका छौँ तर विकासले बसाइसराइ नरोकिएको देखियो, यो समग्र बागलुङको चिनारी हो’, जिसीले भने, ‘हुनेखानेहरू बसाइसराइ गर्ने नै भए हुँदा खाने अवसर र रोजीरोटीका लागि घर छोड्न बाध्य छन्, अब विकाससँगै गाउँमा उद्यमी बनाउन र गाउँ फर्काउन सकिने योजना ल्याउन आवश्यक देखिन्छ ।’

बागलुङ नगरपालिका मात्रै हैन जिल्लाको गलकोट नगरपालिका–७ टोकरी गाउँ बसाइसराइको नमुना नै बनेको छ । पाँच वर्ष अगाडिसम्म गाउँमा झण्डै ४० घरपरिवार बस्ने टोकरी गाउँमा बसाइसराइका कारण अहिले १५ परिवार मात्रै बस्ने गरेका छन् ।

बसाइसराइका कारण रित्तिएको बस्तीबाट अहिले सडक कालोपत्र पुग्ने गरी धमाधम निर्माण भइरहे भए पनि विकासले बसाइसराइ रोक्न नसक्नु विषय दुःखद रहेको गलकोट नगरपालिका–७ मल्मका वडाध्यक्ष राजबहादुर थापाले बताए ।

यहाँका अधिकांश युवा जापान पुगेपछि बसाइसराइले तीव्रता पाएको छ । यहाँका अधिकांश परिवार गलकोट नगरपालिकाको केन्द्र हटिया, बागलुङ बजार, पोखरालगायतका क्षेत्रमा बसाइसराइ गर्ने चलन रहेको थापाले बताए ।

गलकोट नगरपालिकाले बसाइसराइ रोक्न ग्रामीण क्षेत्रमा सहज रूपमा आधारभूत आवश्यकता परिपूर्ति गर्ने गरी काम गर्न थालेको भए पनि सडकको विकासले मात्रै बसाइसराइ रोक्न समस्या देखिएको छ । सडकको पहुँच पुगे पनि उच्च शिक्षा, रोजगारी र स्वास्थ्य सेवाका लागि पछिल्लो समय बसाइँ गर्ने कार्यले तीव्रता पाएको छ ।

बसाइसराइका कारण गाउँ उराठिँदा बाँदरको बिगबिगीलेसमेत सताउने गरेको छ । पछिल्लो समय बसाइसराइका कारण गाउँका घर खाली हुँदै र जमिन बाँझो हुँदै गएपछि अन्य खेती भइरहेको जग्गामा समेत बाँदरको प्रकोपका कारण गाउँ छोड्नुपर्ने अवस्था रहेको छ । निर्वाचनका समयमा बागलुङको दक्षिण भेग बलेवा, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकालगायतका क्षेत्रका जनताले बाँदर नियन्त्रणको योजना ल्याउन आग्रह गरेको बताउँदै नवनिर्वाचित गण्डकी प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले बाँदरको समस्यासँग बसाइसराइ जोडिएको बताए ।

‘बसाइसराइका कारण केही घर खाली छन्, त्यहाँ बाँदरको बास हुन्छ, अन्य किसानको खेतबारीमा लगाएको खेतीपाती बाँदरले नाश पार्दा उनीहरूसमेत बाध्यताले बसाइसराइ गर्नुपर्ने अवस्था छ’, सुवेदीले भने, ‘सडक चिल्लो बन्दै जाने नागरिकहरू बसाई सराइले घट्ने, विद्यालय भवन ठडिने विद्यार्थी घट्दै जाने अवस्थाको अन्त्यका लागि हामीले सोच्ने समय आएको छ, अब बसाइसराइ रोक्नका लागि पूर्वाधारसँगै रोजगारी, शिक्षाको गुणस्तरमा सुधार, गाउँमै स्वास्थ्योपचार र घरेलु उद्यमलाई आधुनिकीकरण गराउँदै लैजानुपर्दछ ।’ बागलुङमा दुई राष्ट्रिय गौरवको आयोजनाका कारण यहाँको विकासमा मुहारै फेरे पनि बसाइसराइ रोकिन नसक्नु दुःखद विषय बनेको स्थानीय जनप्रतिनिधिको भनाइ छ । बागलुङमा मध्य पहाडी लोक मार्ग र कालीगण्डकी करिडोरका कारण विकासले मुहारै फेरेको भए पनि बसाइसराइ भने रोकिएको छैन ।

पछिल्लो समय विद्यालय भवन सुविधा सम्पन्न निर्माण हुने तर विद्यार्थीको सङ्ख्या घट्दै जाने, सडक, विद्युत्, सञ्चारलगायतको सुविधा बढ्दै गए पनि बसाइसराइ रोकिन नसक्नु चिन्ताको विषय बनेको उनीहरूको गुनासो छ ।

स्थानीय तहले बसाइसराइ रोक्नका लागि भौतिक विकासलाई तीव्रता दिए पनि औद्योगीकरण र स्वास्थ्यमा सुधार गर्न आवश्यक रहेको तमानखोला गाउँपालिकाका स्थानीय चूडामणि छन्त्यालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस