सञ्चालनमा आयो नेपाल–भारत जोड्ने ६ लेनको पुल « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

सञ्चालनमा आयो नेपाल–भारत जोड्ने ६ लेनको पुल


१८ पुस २०७९, सोमबार


काठमाडौँ । एसियाली राजमार्गअन्तर्गत पूर्वी नाका काँकडभिट्टाको अन्तर्राष्ट्रिय सीमामा निर्मित ६ लेनको नयाँ पुल आइतबारदेखि सञ्चालन भएको छ।

काँकडभिट्टाबाट भारत पश्चिम बङ्गालको पानी टङ्की नाकासँग जोड्ने मेची नदीमा निर्माण गरिएको ‘मितेरी पुल’का रूपमा परिचित नयाँ पुल पाँच सय ७५ मिटर लामो रहेको छ।

डेढ वर्षअघि नै निर्माण कार्य सम्पन्न भए पनि यो पुल सञ्चालनमा आएको थिएन। एसियाली मुलुकहरूलाई सडक यातायातको सञ्जालमा जोड्ने परियोजनाअन्तर्गत नेपालतर्फ एसियाली राजमार्गमा यही एउटा पुल र पाँच सय मिटरको पहुँच मार्ग मात्र निर्माण भएको छ।

मेची भन्सार कार्यालय र भारतीय भन्सार कार्यालयका अधिकारीहरूले आइतबार दिउँसो १ बजे आ–आफ्नो मुलुकको झन्डा फहराउँदै यातायातका साधनलाई प्रस्थान अनुमति दिएर एसियाली राजमार्गको पुल सञ्चालनको संयुक्त सुरुआत गरेका थिए।

नेपालतर्फबाट मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठक र भारतका तर्फबाट नक्सलबारी भन्सार डिभिजनकी उपआयुक्त लहाछिरिङ शेर्पाले पुलको संयुक्त सुरुआत गरेका हुन्।

२०७३ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले पुल निर्माणको सम्झौता गरेका थिए। भारत सरकारले निर्माण गरेको यस पुलको आधा भाग नेपाली सीमाभित्र पर्दछ।

एसिया उपक्षेत्रीय आर्थिक सहयोग-सडक सञ्जाल परियोजनाअन्तर्गत एसियाली विकास बैङ्कको भारु एक अर्ब ६० करोड ऋण सहयोगमा भारत सरकारले नै पुलको निर्माण गरेको हो। निर्माणका क्रममा पुलको पश्चिमी भागमा पाँच सय मिटर एप्रोच सडक बनाउँदा त्यहाँ बसोबास गरेका ४३ परिवारलाई रु तीन करोड ३७ लाख मुआब्जा नेपाल सरकारले प्रदान गरेको थियो।

नयाँ पुल फराकिलो र सुविधाजनक भएको हुँदा पूर्वी नाका हुँदै गरिने व्यापार सहज बन्ने मेची भन्सार कार्यालयका प्रमुख पाठकले बताए। उनका अनुसार नयाँ पुलबाट सबै प्रकारका यातायातका साधनलाई आवागमनको अनुमति दिइएको छ। दक्षिणतर्फ रहेको पुरानो पुलबाट तीन चक्के टेम्पो, रिक्सा, मोटरसाइकल र साइकललाई प्रवेश दिइने भएको छ।

नेपालले पूर्वी नाका काँकडभिट्टाबाट भारत र बङ्गलादेशको बन्दरगाहसम्म व्यापार सञ्चालन गर्दै आएको छ भने यो नाकाबाट बङ्गलादेशको बङ्गलाबन्ध र च्याङ्ग्राबन्ध सीमा नाका करिब ५० किलोमिटरभन्दा कम सडक दूरीमा रहेको छ।

उक्त पुल सञ्चालनका लागि निरन्तर द्विपक्षीय बैठक भएका थिए। तर भारतीय पक्षले नै सुरक्षा संवेदनशीलता देखाएर पुल सञ्चालनमा ढिलाइ गरेको हो। नयाँ पुल सञ्चालनमा नआउँदा पुरानो पुलमा यातायात र पैदल यात्रीको खेपिनसक्नु चाप थियो। यसबाट दुवै देशका नागरिक र व्यवसायीहरूलाई नाका पार गर्न सास्ती थियो।

मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषिराज तिम्सिनाले नयाँ पुल पूर्णरुपमा सञ्चालनमा आएपछि नाकाको अस्तव्यस्तता हट्ने र यात्रीलाई सहज हुने विश्वास व्यक्त गरे।

Tags :
प्रतिक्रिया दिनुहोस