पक्राउ परे चर्चित ज्योतिष रुद्रनाथ अधिकारी  « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

पक्राउ परे चर्चित ज्योतिष रुद्रनाथ अधिकारी 


१७ पुस २०७९, आइतबार


काठमाडौँ । चर्चित ज्योतिष रुद्रनाथ अधिकारीलाई वन्यजन्तुको अखेटोपहरा कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरी टोलीले उनलाई आइतबार काठमाडौँबाट पक्राउ गरेको हो । उनीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । सोही पत्रका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । 

पक्राउपछि उनलाई डिभिजन वन कार्यालय काठमाडौँ पेस गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

डिभिजन वन कार्यालय काठमाडौँको अनुरोधपछि उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतले गत २७ कात्तिकमै पक्राउ पुर्जी जारी गरेको थियो । तर, उनी फरार रहँदै आएका थिए । 

प्रहरीले गत २१ कात्तिकमा ठमेलस्थित पद्मा संग्रौलाले सञ्चालन गरेको होटेल ‘हेल्लो हाउस’बाट दुर्लभ वन्यजन्तुको अखेटोपहरा बरामद गरेको थियो । घटनमा संलग्न भएको अभियोगमा प्रहरीले संग्रौलालाई त्यही दिन पक्राउ गरेको थियो । 

उनी अहिले प्रहरी हिरासतमा छन् । फसाउने नियतले अखेटोपहरा होटेलमा ल्याएर राखेको बयान संग्रौलाले दिएपछि अधिकारीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।   

रुद्रनाथ चर्चित ज्योतिष हुन् । उनले विभिन्न टेलिभिजन तथा युट्यूबमार्फत सर्वसाधारणको कर्म र भाग्य सम्बन्धमा भाविश्यवाणी गर्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस