प्रचण्ड यति अविश्वसनीय र अनैतिक होलान् भन्ने लागेकै थिएन : पाण्डे « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रचण्ड यति अविश्वसनीय र अनैतिक होलान् भन्ने लागेकै थिएन : पाण्डे


१७ पुस २०७९, आइतबार


बागलुङ । गण्डकी प्रदेशका सांसद तथा काँग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विश्वास गरिहाल्न हुने व्यक्ति नरहेको आरोप लगाएका छन्।

४७ औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा शनिबार काँग्रेस बागलुङले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पाण्डेले चुनावका वेला आफूले एक महिना सङ्गत गर्दा गठबन्धन कुनै हालतमा भत्काउन नहुने भनेका प्रचण्डले पदलोलुप भएर अप्रत्याशित निर्णय गरेको बताए।

पाण्डेले भने, ‘मैले प्रचण्डलाई एक महिना काँधमा बोकेर हिँडेँ। मैले उनलाई जति नजिकबाट चिनेको थिएँ, त्यति अविश्वसनीय र अनैतिक हुन्छन् भन्ने लागेको थिएन।’

उनले काँग्रेस निराश हुनु नहुने बताए। नेपाली काँग्रेस सत्तामा मात्रै टिकेको पार्टी नभएको भन्दै निराश नहुन कार्यकर्तालाई आग्रह गरे। पाण्डेले राज्य र लोकतन्त्रको रक्षाका लागि गठबन्धन गरे पनि अहिले जोगाउन नसकिएको बताए। गठबन्धन भत्किएको विषयमा दलभित्र गम्भीर समीक्षा गर्न आवश्यक रहेको पाण्डेको भनाइ छ।

उनले भने, ‘नेपाली काँग्रेस सत्तामा मात्रै टिकेको पार्टी होइन, सत्ता नहुँदैमा हामी अति चरम निराश हुनुपर्ने अवस्था छैन। हामी अब आफ्नै खुट्टामा उभिएर देश र जनताको चाहनाअनुसार काम गर्नुपर्ने छ, हामीले विश्वास गर्‍यौँ, अरूले धोका दिए। त्यसमा चिन्ता मान्नुपर्ने केही छैन, अब पार्टी सङ्गठनलाई मजबुत बनाउनतिर लाग्नुपर्छ।’

Tags :
प्रतिक्रिया दिनुहोस