‘शिक्षकमा उपयुक्त योग्यता छैन’ « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

‘शिक्षकमा उपयुक्त योग्यता छैन’


१४ पुस २०७९, बिहिबार


काठमाडौँ । शिक्षाविद्हरूले नेपालको शिक्षा प्रणालीमा सुधार हुन नसक्दा शिक्षण पेसामा आकर्षण घट्दै गएको बताएका छन् ।

बिहीबार काठमाडौँमा आयाजित शिक्षा नीति संवाद कार्यक्रममा बोल्दै शिक्षाविद्हरूले पछिल्लो समय नेपालमा विषयगत शिक्षकहरूको कमी भइरहेको र शिक्षकहरूमा पनि उपयुक्त योग्यता भएको नपाइएको बताए ।

विज्ञहरूले आवश्यक शिक्षक मागसमेत पूर्ति हुन नसकेको बताए । कार्यक्रममा बोल्दै शिक्षा सेवा आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले मधेस प्रदेशका जिल्लामा शिक्षक मागे जति पनि उम्मेदवार नपाएको बताए ।

उनले खोजे जति योग्य शिक्षकहरू पाउन नसकेको भन्दै सरकारले यसप्रति गम्भीर बन्नुपर्ने बताए । रेग्मीले सामान्य परीक्षाबाट उत्तीर्ण भएका शिक्षकहरू पनि विषयगत परीक्षामा फेल भएकाले नेपालको शिक्षा प्रणालीलाई वैज्ञानिक र नयाँ किसिमबाट विकसित गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रेक्टर शिवलाल भुसालले विद्यालय स्तरको शिक्षाले तत्काललाई मात्रै नभएर एउटा युगको भविष्य बोक्ने भएकाले विद्यालय स्तरमा शिक्षा प्रणालीको सुधार अति आवश्यक भइसकेको बताए । उनले विद्यालय स्तरको शिक्षालाई आवश्यक सुधार र पमिार्जन गरी योग्यता पुगेका शिक्षकहरूबाट गुणस्तरीय शिक्षा दिन आवश्यक रहेको बताए ।

विद्यालय स्तरमा गुणस्तरयुक्त शिक्षा दिन नसके एउटा युग नै नष्ट हुने बताए । रेक्टर भुसालले शिक्षण व्यवसायमा आकर्षण घट्दै गइरहेको भन्दै सबैभन्दा पहिला शिक्षाको गुणस्तर बढाउन सक्नुपर्ने र देशका हरेक क्षेत्रमा शिक्षाको गुणस्तरलाई गम्भीर रूपमा लिन आवश्यक रहेको बताए ।

कार्यक्रममा काठमाडौं विश्वविद्यालयका डिन बालचन्द्र लुइँटेलले नेपालमा शिक्षाको गुणस्तरलाई बढाउन शिक्षकहरूलाई प्रशिक्षण दिन आवश्यक भएको बताए । उनले विकासशील देशहरूमा शिक्षकहरूलाई योग्य बनाउनका लागि सरकारले विभिन्न शैक्षिक तालिमहरू दिने गरेको तर नेपालमा भने आवश्यक तालिमहरू हुन नसकेको गुनासो गरे ।

तालिम दिँदा पनि विषयगत वा सामान्य तालिमका बारेमा सरकारले चासो राख्न आवश्यक रहेको भन्दै उनले वर्तमान अवस्थामा शिक्षकलाई विषयवस्तु, विज्ञानसम्मत कुराहरूको बारेमा अपडेट गराउन आवश्यक भइसकेको बताए । शिक्षाका विषयवस्तु र पाठ्यक्रमसँगै पढाई लेखाइको तौरतरिकाहरूमा पनि सुधार गर्न जरुरी रहेको उनको भनाइ छ ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका डिन चित्रबहादुर बुढाथोकीले शिक्षामा सुधार गर्नका लागि सरकारले तालिम दिने संस्था छुट्टै बनाउन नसकेको गुनासो गरे । उनले सरकारले कस्तो शिक्षक तयार पार्ने भन्ने नीति नहुँदा र मापदण्ड नबनाउँदा शिक्षकहरूमा गुणस्तर हुन नसकेको बताए ।

तालिम दिँदा कस्तो शिक्षकलाई दिने भन्ने बारेमा सोच्नुपर्ने बताउँदै उनले सरकार शिक्षक बनाउने कुरामा स्पष्ट नीतिका साथ अघि बढ्न नसकेको भने । नेपालमा अगाडि गएर बोर्डमा अक्षर लेख्ने मान्छेलाई शिक्षक भनेर बुझ्नु नै गलत रहेको उनले बताए ।

कार्यक्रममा शिक्षाविद् मनप्रसाद वाग्लेले विश्वविद्यालयहरूले गर्ने कामहरूमा समेत सरकारलाई दोष दिएर उम्किने प्रवृत्ति त्याग्नुपर्ने बताए । उनले विश्वविद्यालयका पदाधिकारीहरूले नै गर्न सक्ने कामलाई नगरेर अरूको टाउकोमा दोष थुपार्ने काम भएसम्म शिक्षाको विकास हुन नसक्ने बताए ।

शिक्षा सेवा आयोगले नै लाइसेन्स दिएका शिक्षकहरू विषयगत परीक्षामा अनुत्तीर्ण भएका कारण अहिलेको समस्या आइरहेको भन्दै आयोगले लाइसेन्स दिने बेलामा ध्यान किन नदिएको भन्दै प्रश्न गरे । नीति अनुसन्धान प्रतिष्ठान अपडेट हुन नसकेको गुनासो गरेका वाग्लेले विश्वमा शिक्षकको अभाव भइरहेको भन्दै बाहिरी मुलुकमा शिक्षक आह्वान भइरहेकाले आकर्षण दिएर नेपालले पनि बाहिरी मुलुकका शिक्षकहरू नेपालमा भित्र्याउनुपर्ने बताए ।

कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका रजिस्टार माधव अधिकारीले शिक्षकहरूमा आवश्यक तलबमान नहुनु, शिक्षण पेसालाई गाउँ र समाजले हेर्ने दृष्टिकोणमा सकारात्मक नदेखिनुले शिक्षण पेसामा आकर्षण घटेको बताए ।

उनले युवा पुस्तामा शिक्षण पेसामा अकार्षण नहुनु, शिक्षामा राजनीति हुनु, नेपालमा शिक्षाको सही पहिचान हनु नसक्दा पनि शिक्षा क्षेत्रमा समस्या बढ्दै गइरहेको बताए । संस्कृत गुरुकुलहरूको नतिजा समयमा हुन नसक्नु र पाठ्यपुस्तकहरू नपाइनुले संस्कृत शिक्षामा कमी भइरहेको अधिकारीको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस