अब ६० वर्षमाथिका एकल पुरुष र मध्यम अपाङ्गता भएकालाई सामाजिक सुरक्षा भत्ता दिइने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अब ६० वर्षमाथिका एकल पुरुष र मध्यम अपाङ्गता भएकालाई सामाजिक सुरक्षा भत्ता दिइने


१४ पुस २०७९, बिहिबार


काठमाडौँ । लमजुङको बेंसीशहर नगरपालिकाले नगरपालिकाभित्रका मध्यम अपाङ्गता भएका र एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ। आर्थिक वर्ष ०७९/०८० को माघबाट लागू हुने गरी मध्यम अपाङ्गता भई पहेँलो कार्ड लिएका र ६० वर्षमाथिका एकल पुरुषलाई कार्यविधि बनाएर भत्ता वितरण गर्न लागेको हो।

एकल महिला, ६८ वर्ष माथिका ज्येष्ठ नागरिक तथा ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएकालाई संघीय सरकारले सामाजिक सुरक्षा भत्ता दिने भएपनि ६० वर्षका एकल पुरुष र मध्यम वर्गका अपाङ्गता भएकालाई नगरपालिकाले जनही मासिक ५ सय रुपैयाँ भत्ता दिने निर्णय गरेको नगरपालिका प्रमुख गुमानसिंह अर्यालले बताए।

नगरपालिकाका अनुसार मध्यम अपाङ्गता भत्ताका लागि निवेदनसाथ नागरिकताको प्रमाणपत्रको प्रतिलिपि (१६ वर्ष मुनिकाको हकमा जन्मदरयता प्रमाणपत्रको प्रतिलिपि) र मध्यम अपागंता परिचयपत्र (पहेँलो कार्ड)को प्रतिलिपि आफ्नो वडा कार्यालयमा पेस गर्नुपर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इमनाथ कँडेलले बताए।

सरकारी वा सार्वजनिक पदमा नियुक्ति, निर्वाचित वा मनोनीत भएका नागरिक, सरकारी वा अन्य कोषबाट निवृत्तिभरण पाइरहेका नागरिक र प्रचलित कानुनबमोजिम अन्य सामाजिक सुरक्षा भत्ता लिइरहेका नागरिकले भने मध्यम अपाङ्गता तथा एकल पुरुष भत्ता नपाउने नगरपालिकाले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस