बागमतीका प्रदेशसभा सदस्यहरूको शपथ आज « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

बागमतीका प्रदेशसभा सदस्यहरूको शपथ आज


१४ पुस २०७९, बिहिबार


काठमाडौँ । बागमती प्रदेशका नवनिर्वाचित प्रदेश सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन् । बागमती प्रदेशसभा सचिवालय हेटौँडामा दिउँसो २ बजेका लागि शपथ ग्रहणको कार्यक्रम तय गरेको जनाएको छ ।

आज प्रदेशसभाका बाँकी १०९ सदस्यहरूको शपथको कार्यक्रम रहेको र उनीहरूलाई प्रदेशसभाका जेष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले शपथ ग्रहण गराउने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

यसअघि बुधबार प्रदेश सभाका ज्येष्ठ सदस्य ढुङ्गानालाई शपथ गराइएको थियो । प्रदेश सचिवालयका सचिव खड्काका अनुसार शपथ ग्रहणका लागि आइतबार नै सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय पोसाक वा आ-आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा निर्वाचन आयोगबाट प्राप्त प्रदेश सभा सदस्य पदको प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, हालसालै खिचेको पासपोर्ट साइजको ६ वटा फोटो ल्याउन सूचित गरिसकेको छ ।

यस्तै बागमती प्रदेश सभाका सदस्यहरूले आफ्नो मातृभाषामा शपथ लिन सक्ने छन् । जसअनुसार प्रदेश सभाले आफूले शपथ खान चाहेको भाषामा शपथको ब्यहोरा मातृभाषामा अनुवाद गरी सचिवालयमा बुझाउन यसअघिनै सूचित गरिसकेको थियो ।

एक ११० सदस्यीय बागमती प्रदेशसभामा कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सदस्य छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस