गठबन्धनलाई सघाउन माधव नेपाल सकारात्मक, एमाले संसद्‍मा ठूलो दल बन्ने सङ्केत   « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

गठबन्धनलाई सघाउन माधव नेपाल सकारात्मक, एमाले संसद्‍मा ठूलो दल बन्ने सङ्केत  


१३ पुस २०७९, बुधबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीमा अध्यक्ष माधव नेपाल एमाले र माओवादी केन्द्रलगायतका दलहरूको नयाँ सत्ता गठबन्धनमा मिलेर जान सकारात्मक देखिएका छन् । नेकपा एसलाई पनि मिलाउने प्रयास स्वरूप एमाले र माओवादीका नेताहरूले पहल गरिरहेका छन् ।

नेपाललाई मनाउनका लागि बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालले पनि भेटेर सरकारलाई समर्थन गर्न आग्रह गरेका छन् ।

दाहालले काँग्रेससँगको गठबन्धन छोडेर एमालेसँग मिल्ने क्रममा आफूसँग छलफल नगरेको भन्दै नेपालले गुनासो गरेका थिए । त्यही गुनासोलाई सम्बोधन गर्दै दाहालले बुधबार वामदलहरूको नेतृत्वमा सरकार बनेकाले सहयोग गर्ने अनुरोध गरेका थिए । विगतमा सहकार्य गरेर अघि बढेको र अहिले पनि मिलेर जानका लागि कुनै सैद्धान्तिक विमति हुने विषय नभएकाले सहयोग गर्ने प्रधानमन्त्री दाहालले आग्रह गरेका छन् ।

अहिले नै मिलेर जाने गरी नेकपा एस तयार भए मन्त्रिपरिषद् विस्तारकै क्रममा सबै विषयहरू मिलाउने सकिने प्रस्ताव दाहालले राखेको स्रोतले जनाएको छ। प्रधानमन्त्री दाहालले गरेको आग्रहमा नेपालले कुनै ठोस विमति राखेनन् । उनले मिलेर जानका लागि आवश्यक आधारहरू बन्नुपर्ने धारणा राखेका थिए । बुधवारको भेटमा जसपाका अध्यक्ष उपेन्द्र यादव पनि थिए । नेपाल र यादव दुवैलाई दाहालले सरकारमा सहभागी भइहाल्ने प्रस्ताव गरेका थिए ।

नेपाललाई मनाउनका लागि एमालेका नेताहरू पनि सक्रिय भएका छन् । उपप्रधानमन्त्री विष्णु पौडेलले पनि नेपालसँग सहकार्य गर्न सकिनेबारे कुरा गरेका छन् । उता नेकपा विभाजन भएपछि छुट्टै पार्टी बनाएर करिब एक्लिएका नेता वामदेव गौतम पनि एमाले र माओवादी मिलेपछि राजनीतिक दृश्यमा देखिन थालेका छन् । गौतमले मङ्गलवार अध्यक्ष नेपाल लगायतका नेतालाई भेटेर सत्ता गठबन्धनसँग मिलेर जान आग्रह गरेका थिए । नेता गौतमले नयाँ परिस्थितिमा नेकपा एसले सत्ता गठबन्धनमा सहयोग नगरे भूल हुने बताएका थिए ।

अध्यक्ष नेपाललाई मिलेर जानका लागि एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पनि उनलाई दुई पटक भेटिसकेका छन् ।

बुधबार एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले अध्यक्ष नेपाललाई उनकै निवासमा पुगेर भेटे । भेटमा नेता नेपालले सकारात्मक कुराकानी गरेको बस्नेतले जानकारी दिए 

अध्यक्ष नेपालले विगतमा केपी शर्मा ओलीले धोकाधडीको राजनीतिक गरेकाले त्यसमा केही समीक्षा हुनुपर्ने बताउने गरेका छन् । विषेशगरी ओलीको कार्यशैलीको विरोध गरेका नेता नेपालले अहिले सामान्य समीक्षा समेत नगरी अघि बढ्दा त्यस्तै अवस्था दोहोरिने हो कि भन्नेमा बढ्ता चासो राख्ने गरेका छन् । तर पार्टी विभाजनले एउटा शिक्षा मिलिसकेको र चुनावपछि नयाँ परिस्थिति समेत बनेकाले अहिले पुराना कुराहरूलाई धेरै अहंको विषय नबनाई अघि बढ्नुपर्ने धारणा सहमतिका लागि रहेका नेताहरूले नेपाललाई सुझाव दिने गरेका छन् ।

अहिले माधव नेपाल सरकारमा जोडिँदा पुष्पकमल दाहाल सरकार झन् मजबुत हुन्छ । दाहाललाई उनको समर्थनको दायरा विस्तार हुन्छ । त्यसैले सरकारमा भए पनि समर्थन गर्न दाहालको जोडबल छ । दाहाललाई समर्थन गर्न नेपालले बुधवारको छलफलमा कुनै आनाकानी गरेनन् ।

यता नेकपा एसलाई फर्काउन सक्दा एमाले संसद्‍मा ठूलो दल बन्न सक्ने अवस्था छ । अहिले एमालेका ७८ सांसद छन् । काँग्रेस ८९ सांसदसहित पहिलो दल बनेको छ । यदि नेकपा एस एमालेमा फर्किए १० सांसद थपिन्छन् । मोरङबाट स्वतन्त्र जितेका सांसद योगेन्द्र मण्डल एमाले पृष्ठभूमिकै हुन् । उनी एमालेमै आउने सम्भावना छ ।

त्यस्तै प्रभु साहसँग मिलेर चुनाव जितेर आएका रौतहटका स्वतन्त्र सांसद किरणकुमार साहसँग पनि एमाले नेताहरूले कुरा गरिरहेका छन् । साहले प्रभु साहको लाइनमा आफू नबस्ने सार्वजनिक अभिव्यक्ति समेत दिइसकेकाले उनलाई एमालेमा जोड्न पहल भइरहेको छ । यदि नेकपा एस पनि थपियो र सम्भावित २ स्वतन्त्र सांसदलाई जोड्न सक्दा एमाले प्रतिनिधिसभामा ९० सिटसहित पहिलो दल हुन्छ ।

नेकपा एसमा पनि छुट्टै दलको रूपमा कुनै शक्ति आर्जन गर्न नसकिने विश्लेषण नेताहरूले गरिरहेका छन् । त्यसैले कुनै न कुनै रूपमा पार्टी एकतामा जानुपर्ने मत नेकपा एसभित्र बलियो बन्दै गएको छ । राष्ट्रिय पार्टीसमेत भएको अवस्थामा अर्को चुनावसम्म पार्टीको अस्तित्व नै नरहने जोखिम छ । अहिले १० जना मात्र सांसद रहेकाले संसद्‍‌भित्र विपक्षी बेन्चमा बस्दा पनि प्रभावकारी भूमिका खेल्न नसकिने बुझाई नेकपा एसका नेताहरूको छ ।

त्यसैले आफ्नो राजनीतिक लाइनसँग निकटहरूसँगै सहकार्य गर्नुपर्ने र त्यो समय अहिले नै उपयुक्त हुने नेकपा एसका एक नेताले बताए ।

एमालेसँग मिलेर अघि जानका लागि व्यवस्थापनका हिसाबले अरू नेतालाई कुनै असहज छैन । अध्यक्ष नेपालको भूमिका र प्रोटोकल के हुने भन्नेचाहिँ मुख्य विषय छ । यद्यपि यो तहसम्मको कुराकानीका लागि ओली र नेपालबीच नै वार्ता हुनुपर्नेछ । जसका लागि एमाले र नेकपा एक दुवैका नेताहरूले पहल गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस