नेकपा एसलाई सरकारमा सहभागी गराउन नेताहरूको दौडधुप « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेकपा एसलाई सरकारमा सहभागी गराउन नेताहरूको दौडधुप


१३ पुस २०७९, बुधबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउनका लागि यतिबेला सरकारमा सहभागी दलहरू जोडतोडका साथ लागेका छन्।

नेपाली काँग्रेससहित पाँच दलीय गठबन्धन टुटाएर एमालेसहित सात दलको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठन भएको छ। सोही सरकारमा एकीकृत समाजवादीलाई पनि सहभागी गराउनका लागि सरकारमा सहभागी दलहरूले पालैपालो पार्टी अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्।

यसअघि पाँचदलीय गठबन्धनमा काँग्रेस-माओवादीसँगै रहेका नेता नेपाल यतिबेला एमालेसहित सात दलको सत्ता गठबन्धनमा भने आउन अन्कनाइरहेका छन्।

नेपाललाई मनाएर सरकारमा ल्याउनका लागि प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष दाहाल नै प्रमुख कसरतमा रहेका छन्। दाहालले उनलाई सरकारमा ल्याउनका लागि बिहान पनि भेटेर छलफल गरेका थिए।

स्रोतका अनुसार हात्तीवनमा भएको उक्त भेट माधवलाई सरकारमा ल्याउने विषयमा नै केन्द्रित थियो। यसका साथै प्रधानमन्त्री दाहालले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गरेका थिए।

यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एकीकृत समाजवादीले तीन प्रतिशत मत ल्याएर थ्रेसहोल्ड पनि कटाउन नसक्दा राष्ट्रिय पार्टी बन्न सकेन। यसकारण यसलाई एमालेसँग एकता गराएर सरकारमा सहभागी गराउनका लागि कसरत भइरहेको स्रोतको दाबी छ।

यसै विषयमा छलफल गर्नका लागि हिजो एमालेका उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेलले माधवलाई भेटेका थिए।

माधवसँग एमालेका अर्का नेता पृथ्वीसुब्बा गुरुङले पनि भेटेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस