काठमाडौँ । सहमति गरेको ३ वर्षपछि चिनियाँ प्राविधिक टोली नेपाल–चीन अन्तरदेशीय रेलमार्गको विस्तृत सम्भावना अध्ययन गर्न नेपाल आइपुगेको छ । मंगलबार ६ सदस्यीय चिनियाँ विज्ञटोली प्रस्तावित नेपाल-चीन (केरुङ–काठमाडौँ) रेलमार्गको नेपालखण्ड विस्तृत सम्भाव्यता अध्ययन गर्न काठमाडौँ आएको हो ।
चीनले नै ०७५ मा उक्त आयोजनाको पूर्व सम्भाव्यता अध्ययन सम्पन्न गरेको थियो । २५ मंसिर ०७५ मा चीनको नेसनल रेलवे अथोरिटी अफ चाइनाले यस रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन रिपोर्ट नेपाललाई बुझाएको थियो । त्यसपछि आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन गर्ने गरी २५-२६ असोज ०७६ मा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा सहमति भएको थियो । सोहीअनुसार १० मंसिर ०७६ मा दुई देशबीच अध्ययनको कामसमेत बाँडफाँड भएको थियो । त्यसको दुई वर्षमा अध्ययन सम्पन्न गर्ने भनिए पनि तीन वर्षपछि चिनियाँ टोली आयोजनाको विस्तृत अध्ययन गर्न नेपाल आएको हो ।
गत १३ चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा चिनियाँ अनुदान तथा प्राविधिक सहायतामा उक्त अध्ययन गर्ने सम्झौता भएको थियो । साथै, गत साउनमा तत्कालीन परराष्ट्रमन्त्री डा। नारायण खड्का चीन भ्रमणमा जाँदा उनै विदेशमन्त्री वाङ यीले यो वर्ष (०२२) को अन्त्यसम्ममा सम्भाव्यता अध्ययन सुरु गर्ने घोषणा गरेका थिए । सोही घोषणाअनुसार चिनियाँ टोली आयोजनाको अध्ययन गर्न आएका हुन् ।
चिनियाँ राजदूतावासले मंगलबार एक विज्ञप्ति जारी गर्दै रेलमार्गको अध्ययन गर्न विज्ञटोली आएको जानकारी दिएको हो । विज्ञटोलीलाई चिनियाँ दूतावासका कार्यवाहक राजदूत वाङ जिन र रेल विभागका प्रवक्ता अमन चित्रकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
‘चीन–नेपाल अन्तरदेशीय रेलमार्गको सम्भाव्यता अध्ययन र सर्वेक्षण गर्ने नेपाली जनताको लामो समयदेखिको सपना र दुई देशका शीर्ष नेताहरूबीच भएको महत्वपूर्ण सहमति हो,’ चिनियाँ राजदूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल र चीनबीच बिआरआई निर्माणको यो अभिन्न अंग पनि हो । चीनले नेपालको आकांक्षा र आवश्यकतालाई प्राथमिकता दिँदै चीनको अनुदानमा रेलमार्गको सम्भाव्यता अध्ययनलाई सक्रियतापूर्वक अगाडि बढाउनेछौँ ।’
दुई देशको हिमालय पार बहुआयामिक कनेक्टिभिटी नेटवर्क निर्माण गर्ने उद्देश्यले संयुक्त रूपमा अगाडि बढ्ने यो आयोजनाले निकट सम्पर्क र समन्वय कायम गर्न सहयोग पुग्ने दूतावासका द्वितीय सचिव झाङ सीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । योसँगै अब नेपाल–चीन रेलमार्गको सम्भाव्यता अध्ययन अघि बढ्ने पक्का भएको रेल विभागका प्रवक्ता अमन चित्रकारले बताए ।
०७२ को नाकाबन्दीपछि भारतसँगको एकपक्षीय निर्भरता तोड्न नेपालले नेपाल–चीन सीमापार बहुआयामिक अन्तरआबद्धता सञ्जालअन्तर्गत केरुङ–काठमाडौं रेलमार्गको योजना अघि बढाएको थियो । त्यसपछि चीनले नै यस रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन गरेको थियो ।उक्त अध्ययनले आयोजना बनाउन भौगोलिक रूपमा चुनौती भए पनि असम्भव नहुने देखाएको थियो । चीनले आफ्नो देशमा पनि नेपालको जस्तै भौगोलिक अवस्था भएको ठाउँमा रेलमार्ग बनाइसकेको छ, त्यो अवस्थामा यो रेलमार्ग बन्न सक्ने बताइएको छ । यद्यपि, अब यसलाई विस्तृत सम्भाव्यता अध्ययनले पूर्णता दिने प्रवक्ता चित्रकारले बताए ।
उनकाअनुसार यो नेपालमा पहिलो विज्ञटोली हो । यो टोलीले सम्भाव्यता अध्ययन गर्नका लागि आवश्यक तयारी गर्ने काम गर्नेछन् । साथै, प्रारम्भिक रूपमा सम्भाव्यता अध्ययनको काम पनि गर्नेछन् । त्यसपछि चीनबाट थप विज्ञटोली आउने उनको भनाइ छ ।