चीन जोड्ने रेलमार्गको विस्तृत अध्ययन थाल्न चिनियाँ टोली काठमाडौँमा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

चीन जोड्ने रेलमार्गको विस्तृत अध्ययन थाल्न चिनियाँ टोली काठमाडौँमा


१२ पुस २०७९, मंगलबार


काठमाडौँ । बहुचर्चित काठमाडौँ-केरुङ अन्तरदेशीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्न चीनबाट प्राविधिक टोली नेपाल आइपुगेको छ । चीन सरकारको चाइना रेल-वे सर्भे एन्ड डिजाइन ग्रुप कम्पनी लिमिटेडका प्राविधिकहरू मङ्गलवार दिउँसो काठमाडौँ आइपुगेका छन् ।

यो टोलीले प्रस्तावित रेलमार्गको इन्जिनियरिङ अध्ययन प्रतिवेदन तयार गर्नेछ । विभागका महानिर्देशक रोहितकुमार बिसुरालका अनुसार यो टोलीले थालेको ४२ महिनामा अध्ययन प्रतिवेदनमा तयार गर्नेछ । 

चीनले २४ मंसिर २०७५ मा हस्तान्तरण गरेको केरुङ–काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन अध्ययन अनुसार विस्तृत अध्ययनको काम यतिबेला सकिनु पर्ने हो । चीनले महामारीको कारण देखाउँदै नेपालसँग भएको सम्झौताअनुसार अध्ययन हुन नसकेकाले काम सुरु भएको ४२ महिना समय लाग्ने जानकारी माघ २०७८ भएको भौतिक पूर्वाधार मन्त्रालयस्तरको सचिवस्तरीय भर्चुअल वार्तामा गराएको थियो । महामारीपछि अवस्था सहज नभएको र जटिल भूगोलमा अध्ययन गर्न पर्ने भएकाले पूर्वनिर्धारित तालिकाअनुसार अध्ययन पूरा गर्न थप लाग्ने चीनको तर्क थियो ।

नेपाल सरकारले यो रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने काम दुई वर्षअघि चीन सरकारकै जिम्मामा छाडेको हो । तर, चिनियाँ पक्षले अहिलेसम्म फिल्डमा अध्ययनको काम थालेको छैन । चीन सरकारले कोरोना नियन्त्रणका लागि लिएको कडा नीतिका कारण लामो समयसम्म प्राविधिक टोली आउन सकेको थिएन ।

आफ्नै खर्चमा हुनसक्ने डीपीआरमा समेत अरूको भर पर्दा काममा ढिलाइ भएको छ । केरुङ-काठमाडौँ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययनको काम अघि बढाउन आग्रह गर्दै २०७८ कात्तिकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत पत्र पठाएको थियो ।

केरुङ-काठमाडौँ, काठमाडौँ-पोखरा र पोखरा-लुम्बिनी रेलमार्गको डीपीआर बनाउने समझदारी पत्रमा २०७६ असोजमा भएको चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा हस्ताक्षर भएको थियो । त्यो समझदारी कार्यान्वयनका लागि काठमाडौँमा २०७६ मंसिर दोस्रो सातामा भएको नेपाल र चिनियाँ अधिकारीहरूको बैठकले काम बाँडफाँट गरेको थियो । त्यसअनुसार चीनले आफ्नो खर्चमा भौगर्भिक अध्ययनसहित विस्तृत सम्भाव्यता अध्ययन गर्नुपर्ने छ ।

अप्ठेरो भूगोलमा करिब ९८ प्रतिशत सुरुङमार्ग र पुल राखेर बन्ने आयोजना भएकाले अध्ययनमा धेरै समय लाग्नु स्वभाविक भएको रेल विभागका अधिकारीहरू बताउँछन् ।

तर, महामारीपछि चीनले अध्ययनमा खासै जाँगर देखाएको थिएन । तर, निर्वाचनपछि नयाँ सरकार बन्नासाथ चिनियाँ टोली नेपाल उत्रिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस