थप दुई आयोजनाको बिजुली निर्यात गर्न भारतले दियो अनुमति « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

थप दुई आयोजनाको बिजुली निर्यात गर्न भारतले दियो अनुमति


१२ पुस २०७९, मंगलबार


काठमाडौँ । भारत सरकारले थप दुई वटा नेपाली आयोजनाको बिजुली निर्यात गर्न अनुमति दिएको छ । भारत सरकारले २४.२५ मेगावाटको काबेली-बी १ र १९.४ मेगावाटको तल्लो मोदी आयोजनाको बिजुलीलाई निर्यात गर्न अनुमति दिएको हो ।

यो अनुमतिसँगै इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे-अहेड बजारमा करिब ४५२ मेगावाट बराबरको आयोजनाले निर्यातको अनुमति पाएका छन् ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भारतले चरणबद्ध रूपमा थप आयोजनाहरूलाई अनुमति दिइरहेको बताए । नदीको सहत घटेका कारण तत्काल भारतमा बिजुली निर्यात गर्न नसकिएपनि आगामी बर्षायामाका लागि यो अनुमतिले उत्साह थपेको उनको भनाइ छ ।

चिसो बढ्दा काठमाडौं उपत्यकालगायतको विद्युत् माग बढेको छ भने खोलानालामा पानीको बहाव घट्दा नदी प्रवाहमा आधारित जलविद्युत केन्द्रहरूबाट उत्पादन कम भएसँगै विद्युत् निर्यात बन्द भएको छ ।

‘हामीले प्रस्ताव गरेका अरू आयोजनाहरूले पनि अनुमति पाउनेमा विश्वस्त छौँ,’ उनले भने,’भारतसँगको ऊर्जा व्यापार तथा सहकार्य भविष्यमा थप विस्तार हुँदै जाने र त्यसबाट दुबै मुकुले अधिकतम लाभ उठाउन पाउने हाम्रो विश्वास छ ।’

गत १९ जेठदेखि ३ पुससम्ममा प्राधिकरणले ११ अर्ब १६ करोड ३० लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको थियो । देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट विद्युत् निर्यात गरी प्राधिकरणले ११ अर्ब १६ करोड ३० लाख रुपैयाँ ९६ अर्ब ९७ करोड ६९ लाख भारु० आर्जन गरेको छ ।

सुरुमा दुई वटा जलविद्युत केन्द्रहरूबाट उत्पादित ३९ मेगावाट विद्युतलाई स्रोत मानी दैनिक रूपमा आईएक्समा बिक्री सुरु गरिएको थियो । त्यसपछि २७ जेठबाट ६ वटा जलविद्युत केन्द्रबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रूपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिएको थियो । प्राधिकरणले गत १८ र ३० कात्तिकबाट थप दुई जलविद्युत केन्द्रबाट उत्पादित विद्युत् निर्यात गर्न स्वीकृति पाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस