प्रदेश १ : काँग्रेस संसदीय दलको नेतामा सहमति नजुटेपछि निर्वाचन गर्ने तयारी « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

प्रदेश १ : काँग्रेस संसदीय दलको नेतामा सहमति नजुटेपछि निर्वाचन गर्ने तयारी


१२ पुस २०७९, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसले प्रदेश १ मा निर्वाचन गरेर प्रदेश १ संसदीय दलको नेता छान्ने भएको छ । दलको नेताका चार जना आकाक्षीले दाबी नछाडेपछि शुक्रबार निर्वाचन गरेर दलको नेता छान्ने भएको हो ।

काँग्रेस संसदीय दलको नेतामा केन्द्रीय सदस्य अमृत अर्याल, भीम पराजुलीसँगै प्रदेश १ सभापति उद्धव थापा र प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की दाबेदार छन् । हिमाल कार्की पनि दलको नेताको आकाङ्क्षी हुन् । सोमबार भएको छलफलमा कसैले दाबी नछाडेपछि पुस १५ गतेका लागि निर्वाचन तोकिएको हो ।

निर्वाचनका लागि राष्ट्रियसभामा काँग्रेस संसदीय दलको नेता तथा काँग्रेस १ नम्बर प्रदेश समितिका उपसभापति रमेशजंग रायमाझीको संयोजकत्वमा निर्वाचन समिति गठन भएको छ ।

समितिले निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरेको छ । बिहीबार मनोनयन दर्ताका लागि समय निर्धारण गरिएको छ । संयोजक रायमाझीका अनुसार संसदीय दलको नेताले मनोनयन दर्ताका लागि २५ हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ ।

बिहीबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको समितिले शुक्रबार बिहान ९ बजेदेखि १० बजेसम्म मतदानको समय निर्धारण गरेको छ । प्रदेश १ को सभामा नेपाली काँग्रेसका २९ सांसद छन् ।

२९ सदस्यीय संसदीय दलमा अमृत अर्याल दलको नेताको प्रमुख दाबेदार हुन् । संस्थापन पक्षका उनी दुई कार्यकाल केन्द्रीय सदस्य बनिसकेका छन् ।

२०७० सालको संविधानसभा सदस्य निर्वाचित उनी यो पटक सभापति शेरबहादुर देउवासँगको सल्लाहमा मुख्यमन्त्री बन्ने उद्देश्यसहित प्रदेशमा आएका थिए ।

तर काँग्रेस माओवादी गठबन्धन टुटेपछि काँग्रेस प्रतिपक्षमा बस्नेछ ।सभापति शेरबहादुर देउवा समूहमा अमृत अर्याल, हिमाल कार्कीसहित ११ जना छन् । दोस्रो पटक प्रदेशसभा सदस्य निर्वाचित कार्कीले पनि यसअघि दलको नेतामा आकाङ्क्षा राखेका थिए ।

संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौला पक्षबाट भीम पराजुली र उद्धव थापाले दाबी गरेका छन् । डा। शेखर कोइराला पक्षबाट केदार कार्की दाबेदार छन् ।

दुई कार्यकाल नेपाली काँग्रेस झापाको सभापति भएका थापा १४ औँ महाधिवेशनबाट गुरुराज घिमिरेलाई पराजित गर्दै प्रदेश १ सभापतिमा निर्वाचित भएका थिए । उनी समानुपातिक पद्धतिमार्फत सांसद बनेका थिए ।

विराटनगर महानगरपालिकाका पूर्वमेयर भीम पराजुली १३ औँ अधिवेशनबाट विराटनगरको नगर सभापति निर्वाचित भएका थिए । १४ औँ महाधिवेशनमा उनी केन्द्रीय सदस्य निर्वाचित भए । थापा पराजुलीसहित सिटौला समूहमा ९ जना छन् ।

प्रदेशसभा सदस्यमा दोस्रो पटक निर्वाचित केदार कार्की कोइराला पक्षबाट प्रमुख दाबेदार हुन् । उनी वर्तमान सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री छन् । केदार कार्की, इन्दिरा थापा, मानबहादुर लिम्बुसहित ९ जना डा। कोइराला पक्षका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस