काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाका सदस्यहरूबाट मासिक ३ लाख ८३ हजार रुपैयाँ लेबी उठाउने भएको छ ।
पार्टी केन्द्रीय पदाधिकारीको पुस ७ गते बसेको बैठकले जनही १२ हजार रुपैयाँका दरले ३२ सांसदबाट ३ लाख ८४ हजार रुपैयाँ लेबी उठाउने निर्णय गरेको हो ।
यस्तै संघीय सांसदकै राष्ट्रियसभाका सांसदबाट माओवादी केन्द्रले थप १ लाख ८० हजार उठाउनेछ । राष्ट्रियसभामा माओवादी केन्द्रका १५ जना सांसद रहेका छन् । संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाबाट गरी माओवादी केन्द्रले मासिक ५ लाख ६४ हजार रुपैयाँ उठाउनेछ ।
माओवादीका एक पदाधिकारीले संघीय संसद प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूले पार्टीमा बुझाउने मासिक लेवी १२ हजार रुपैयाँ सांसदका दरले निर्धारण गर्ने निर्णय भएको जानकारी दिए ।
यसैगरी प्रदेश सभाका सांसदहरूले पाउने तलब, भत्ता र अन्य सेवा सुविधा प्रदेशहरूमा फरक फरक भएकाले प्रदेश सभाका मन्त्री र सांसदहरूको लेवी निर्धारण सम्बन्धित प्रदेशको पार्टी समितिले गर्ने निर्णय भएको छ ।
प्रदेशहरूबाट उठेको मासिक लेवी ८० प्रतिशत सम्बन्धित प्रदेशमा राख्ने र बाँकी २० प्रतिशत लेवी रकम अनिवार्य रूपमा केन्द्रीय कार्यालयमा पठाउने निर्णय पनि भएको ती नेताको भनाइ छ ।