काठमाडौँ । हेफर इन्टरनेसनल नेपालले कोरियाबाट उन्नत जातका १ सय भन्दा बढी गाई र साँढे काठमाडौँ ल्याउन सुरु गरेको छ । नेपाल सरकारलाई निःशुल्क हस्तातरण गर्ने गरी जहाजमार्फत कोरेली बाच्छी र साँढे काठमाडौँ ल्याउन थालिएको छ ।
२० वटा होलेस्टेन साँढे (बाच्छा) र १०१ वटा होलेस्टेन गाई काठमाडौँमा ल्याउने तयारी छ । पहिलो चरणमा आसियाना एयरलाइन्सको विमानबाट बिहीबार ४२ वटा गाई तथा साँढे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका छन् । अब क्रमैसँग बाँकी गाई र साँढे पनि काठमाडौं ल्याइने भएको छ ।
ती गाई र साँढेलाई क्यारेन्टाइनका लागि नेपाल कृषि अनुसन्धान परिषद् नार्कमा राखिनेछ । यी गाईहरू केही सरकारलाई र धेरैजसो किसानलाई वितरण गर्ने योजना छ । सिन्धुलीका किसानले कमलामाई नगरपालिकाका सहयोगमा यी गाईका लागि गोठ तयार गरिसकेका छन् ।
नेपालमा दूधको उत्पादन बढाउन र उन्नत नश्लका गाईको संख्या विस्तार गर्न कोरियाबाट सहयोग प्राप्त भएको पुशसेवा विभागका एक अधिकारीले बताए । गाई र साँढे ल्याउँदा लागेको करिब साढे १७ करोड रुपैयाँ खर्च सबै हेफरले बेहोर्ने छ।