काठमाडौँ । संघीय सचिवालयले नवनिर्वाचित सांसदहरुलाई शपथ ग्रहण समारोहका लागि तयारी सुरु गरेको छ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद भवनमा भौतिक व्यवस्थापनको काम भइरहेको संघीय संसद सचिवालयले जनाएको छ ।
नवनिर्वाचित २७५ सांसदलाई शपथ गराउनका लागि सभाका जेष्ठ सदस्य पशुपति शमशेर जबरालाई राष्ट्रपति भवनमा शपथका लागि पठाइएको छ । बिहीबार दिउँसो १ बजे हुने शपथका बेला स्वदेशी तथा विदेशी पाहुनाहरूलाई पनि आमन्त्रण गरिएको संघीय संसद्का प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।
यस्तै सांसदहरुलाई आकस्मिक उपचार सेवाको पनि व्यवस्था गरिएको पनि जनाइएको छ । प्राथमिक उपचारको व्यवस्था, मेडिकल एक्सपोर्ट टिम को को राख्ने भन्ने तयारी भइरहेको उनले बताए ।
शपथपछि सांसदहरूका लागि सचिवालयले संसद भवन परिसरमा चियापान समेत गराउने भएको छ ।