काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनका नेताहरूमा अहङ्कार देखिए जस्तोसुकै परिस्थितिको सामना गर्न तयार रहेको चेतावनी दिएका छन् ।
सोमबार पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई दिन आयोजित कार्यक्रममा उनले आफूहरूको चाहना भने सत्तारुढ गठबन्धनलाई नै निरन्तरता दिने रहेको बताए ।
‘हामीले अहिलेकै गठबन्धनलाई कायम राख्ने छौँ,’ नेपालले भने, ‘गठबन्धन दलका नेताहरुले सँगसँगै जाने सहमति पनि गरेका छौँ । तर, गठबन्धनभित्रकै दलहरूका नेताहरूमा अहङ्कार पलाउँछ भने हामी जस्तोसुकै स्थितिको सामना गर्न तयार छौँ ।’
उनले यसबारेमा थप व्याख्या भने गरेनन् । सत्ता गठबन्धनभित्र शक्ति बाँडफाँटका विषयमा औपचारिक छलफल सुरु नभइसकेका बेला नेपालले दिएको चेतावनीलाई अर्थपूर्ण मानिएको छ । प्रत्यक्षमा १० सिट जितेको एकीकृत समाजवादीले मुख्य पाँच पदमध्ये एक आफूले पाउनुपर्ने दाबी गरेको छ ।
कतिपयले बामपन्थीमात्रै र गैरबामपन्थीको सरकार बन्न सक्ने चर्चा गरेको भन्दै उनले यसको अर्थ नभएको बताए ।
यो प्रतिनिधिसभा निर्वाचनबाट काँग्रेसलाई धेरै फाइदा भएको टिप्पणीसमेत नेपालले गरे । ‘यो निर्वाचनलाई कुनै पार्टीलाई बहुमत दिएको छैन’, उनको भनाइ छ, ‘अरू जम्मैले नोक्सानी बेहोरे, फाइदा लियो नेपाली काँग्रेसले । त्यो स्वभाविक थियो ।’