काठमाडौँ । ९३ सदस्यीय प्रदेश १ प्रदेश सभामा सरकार गठनका लागि एउटा सांसद जितेको जसपा निर्णायक छ । बहुमतका लागि ४७ सिट चाहिने प्रदेश १ मा एमाले-राप्रपा र सत्ता गठबन्धनसँग समान ४६/४६ सिट छ ।
सरकार गठनका लागि जसपा सांसद निर्मला लिम्बू निर्णायक हुन् । प्रत्यक्षमा कुनै सिट नजितेको जसपाले समानुपातिकमा पाएको १ सिटमा लिम्बुलाई पठाएको हो ।
निर्णायक भएका कारण उनीसँग दुवै पक्षका नेताले सहयोग मागिरहेका छन् । केन्द्रीय तहका नेताले संवाद बढाएका छन् । तर उनको जवाफ भने पार्टीको निर्णय पर्खनुहोस् भन्ने छ ।
पार्टीले निर्णय नगरेका कारण कसलाई सहयोग गर्ने भन्ने टुङ्गो छैन । लिम्बू पार्टीको निर्णय अनुसार अघि बढ्ने पक्षमा छिन् ।
लिम्बू सत्ता गठबन्धन र नेकपा एमाले नेताहरूसँग संवाद भइरहेको बताउँछिन्
लिम्बू पहिचानको पक्षधर हुन् । गोरेबहादुर खपाङ्गी नेतृत्वको जनमुक्ति पार्टी हुँदै राजनीतिमा आएकी थिइन् । २०५०-०५१ सालदेखि जनमुक्ति पार्टीको विद्यार्थी सङ्गठनमा बसेर पहिचानको राजनीति गरेकी उनी विवाहपछि केही समय राजनीतिबाट अलग रहिन् । दोस्रो जनआन्दोलनपछि कुमार लिङ्देन नेतृत्वको लोकतान्त्रिक राष्ट्रिय मञ्चमा रहेर काम गरिन् । पहिचानको पक्षमा रहेकी उनी पछि अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीमा जोडिइन् ।
पहिचानको मुद्दामा फरक मत राखेर २०६९ मा अशोक राईले नेकपा एमाले छाडेर संघीय समाजवादी पार्टी गठन गरेपछि उनी सुरुदेखि नै सो पार्टीमा सक्रिय भइन् । त्यसयता निरन्तर उनी अशोक राईको नेतृत्वमा छिन् ।
९३ सदस्यीय प्रदेश १ मा नेकपा एमालेसँग ४० सिट छ । एमाले बहुमत भन्दा ७ सिटले पछाडि छ । नेपाली काँग्रेसले २९, माओवादी केन्द्रले १३, राप्रपाले ६ नेकपा एकीकृत समाजवादी पार्टीले ४ र जसपाले १ सिट जितेको छ ।
पहिचानको पक्षधर भएका कारण उनको झुकाव सत्ता गठबन्धनसँग नजिक देखिन्छ । पहिचान पक्षधर माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पनि सत्ता गठबन्धनमा छन् । तर लिम्बू भने पार्टीको निर्णयका आधारमा अगाडि बढ्ने बताउँछिन् ।