काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा विकासको मेरुदण्ड भएको बताएका छन् । उनले स्वास्थ्य सेवालाई समयको गतिसँगै थप चुस्त, सहज र सर्वसुलभ बनाउँदै अघि बढ्नुपर्ने खाँचो औँल्याए । स्वस्थ, तन्दुरुस्त र निरोगी नागरिकहरूबाट नै मुलुकको आर्थिक सामाजिक विकास सम्भव हुने बताउँदै प्रधानमन्त्री देउवाले स्वास्थ्य र शिक्षा मानव अधिकारसँग पनि जोडिएको विषय भएको हुँदा यस क्षेत्रको विकासलाई सरकारले विशेष प्राथमिकतामा राखेर कार्य गर्दै आएको अवगत गराए ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको एघारौँ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।
प्रतिष्ठानका उपकुलपतिले पेस गरेको कार्य प्रगति सुन्दा छोटो अवधिमै प्रतिष्ठानले उल्लेखनीय प्रगति हासिल गर्न सकेको उल्लेख गर्दै उनले काठमाडौँ उपत्यकाभित्र मात्र सीमित नरही प्रतिष्ठानले बर्दियाको राजापुरबाट स्वास्थ्य सेवा तथा स्वास्थ्य शिक्षा प्रवाह गर्ने कार्यको थालनी गर्न लागेकोमा प्रतिष्ठानलाई धन्यवाद दिए ।
प्रधानमन्त्री देउवाले प्रतिष्ठानले आफ्नो अस्पतालहरूमा समयानुकूल विभिन्न सेवा र प्रविधिहरू थप गरी स्वास्थ्य सेवालाई नागरिकको माग र आवश्यकताअनुसार विस्तार गर्दै लगेकोमा खुसी व्यक्त गर्दै कोभिड १९ र डेङ्गुबाट सङ्क्रमितहरूको परीक्षण र उपचारमा प्रतिष्ठानले पु¥याएको योगदानको प्रशंसा गरे ।
मुलुकमा स्वास्थ्य प्रतिष्ठानहरूको सङ्ख्यामा सङ्ख्यात्मक वृद्धिसँगसँगै तिनको अध्ययन, अध्यापन र स्वास्थ्य सेवा प्रवाहलाई चुस्त र गुणस्तरीय बनाउने कार्य चुनौतीपूर्ण रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले यस क्रममा सम्बन्धित स्वास्थ्य प्रतिष्ठानहरूले आफ्नो गुणस्तरमा कुनै सम्झौता नगरी गुणस्तरीय अध्ययन अनुसन्धान र स्वास्थ्य सेवा प्रवाहमा निरन्तर ध्यान दिन आवश्यक रहेकामा जोड दिए ।
प्रतिष्ठानका कुलपति रहेका प्रधानमन्त्री देउवाले स्वास्थ्य क्षेत्र गतिशील क्षेत्र भएको र यस क्षेत्रमा हरेक दिन नयाँनयाँ अनुसन्धानहरू भई नयाँनयाँ उपचार पद्धति, प्रविधि र औषधिहरूको आविष्कार भइरहेको बताउँदै त्यसलाई स्वास्थ्य प्रणालीभित्र समायोजन र अनुकूलन गर्दै अघि बढ्नुपर्ने खाँचो औँल्याए । यसका लागि प्रतिष्ठानले एकातिर थप पूर्वाधारहरूको विकास गर्दै जान र अर्कोतर्फ नयाँ प्रविधि र पद्धतिलाई क्रमशः आत्मसात् गर्दै जान आवश्यक रहेको उनको भनाइ थियो ।
अझै पनि ग्रामीण क्षेत्रमा स्तरीय स्वास्थ्योपचारको व्यवस्था मिलाउन दक्ष जनशक्ति तथा उचित पूर्वाधारको न्यूनताका कारण कठिनाइ भइरहेको बताउँदै उनले यस परिप्रेक्ष्यमा मुलुकका लागि आवश्यक दक्ष तथा सामाजिक उत्तरदायित्वको भावनाबाट अभिप्रेरित चिकित्सक, नर्स, प्रयोगशालाविद् लगायतका स्वास्थ्यकर्मीहरू उत्पादन गरी स्वास्थ्य सेवाको पहुँच ग्रामीण स्तरसम्म विस्तार गर्दै जानुपर्ने खाँचो रहेको उल्लेख गरे ।
निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवाहरू अत्यधिक महँगो भएकाले त्यसमा आम जनताको सहज पहुँच स्थापित हुन सकेको नसकेको बताउँदै प्रधानमन्त्री देउवाले सरकारी र सामुदायिक स्तरमा स्वास्थ्य केन्द्र तथा अस्पतालहरूको विकास गरी त्यहाँबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह हुने व्यवस्था मिलाउनु राज्यको प्राथमिक दायित्वको विषय भएको उल्लेख गरे ।