गोरखामा पृथ्वीनारायण शाहको शालिक राखेर दैनिक सलामी दिइने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

गोरखामा पृथ्वीनारायण शाहको शालिक राखेर दैनिक सलामी दिइने


२६ मंसिर २०७९, सोमबार


काठमाडौँ । गोरखा नगरपालिकाले सदरमुकामको पुरानो बजार ठूलोआँगनको बीच भागमा पृथ्वीनारायण शाहको शालिक राखिने भएको छ ।

गोरखा नगरपालिकाको आर्थिक सहयोग र नेपाली सेनाको अगुवाइ र अवधारणा अनुसार ठूलो आँगनको बीच भागमा पृथ्वीनारायण शाहको ७ फिट ३ इन्च अग्लो पूर्ण कदको शालिक बनाउने तयारी छ । शालिकसँगै नेपालको नक्सा अङ्कित मोनोग्राम र नेपालको झण्डा पनि राख्न २१ लाख रुपैयाँ लाग्ने नगरपालिकाको अनुमान छ ।

शालिक निर्माणपछि प्रत्येक दिन पृथ्वीनारायण शाहकालीन पोसाक तथा हतियारमा नेपाली सेनाको शार्दुलजंग गुल्मको ११ जनाको टोलीले ‘राष्ट्र निर्माता सलामी’ अर्पण गर्ने नेपाली सेनाको रिपुमर्दन गणका गणपति हेमराज विष्टले बताए ।

सलामी अर्पणको समयमा बिगुलमार्फत विजयी ध्वनि बजाइने र माइक जडान गरेर ठूलोआँगनमा सुनिने व्यवस्था मिलाउने सेनाले बताएको छ ।

शालिक निर्माण र नेपाली सेनाको मार्चपाससहितको राष्ट्र निर्माता सलामीले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगर बताउँछन् ।

तर ठूलोआँगन क्षेत्रका वासिन्दाले भने यो निर्णयको विरोध गरेका छन् । पृथ्वीनारायण शाहको शालिक राख्ने विषय स्वागतयोग्य भए पनि ठाउँ छनोट गलत भएको ठूलोआँगन क्षेत्रकै बासिन्दा नारायणभक्त अर्याल बताउँछन् ।

सो ठाउँमा शालिक निर्माण गर्दा ठूलोआँगन थप साँघुरो हुने र गोरखाको पुरानो बजारको इतिहास समेत मेटिने भन्दै उनले चिन्ता व्यक्त गरे । ठूलोआँगनसँगै रहेको गोरखा सङ्ग्रहालय परिसरमै शालिक राख्नु उचित हुने उनको भनाइ छ ।

स्थानीय विश्वदेव श्रेष्ठले शालिक राख्ने ठाउँ छनोटमा असन्तुष्टि जनाए ।

जेष्ठ नागरिक सङ्घका जिल्ला अध्यक्ष मोहनलाल श्रेष्ठ भने ठूलोआँगनको बीच भागमै शालिक राख्नु उपयुक्त हुने बताउँछन् ।

काठमाडौँको सिंहदरबार अगाडिको पृथ्वी शालिक, महाराजगञ्जमा रहेको नारायणगोपालको शालिक र दरबारमार्गमा रहेको महेन्द्र शालिक पनि सडकको बीचमा रहेको उनले उदाहरण दिए ।

नगरपालिकाले ठूलोआँगनको बीचमा शालिक राख्ने र सो क्षेत्रमा सवारी साधन निषेध गर्ने निर्णय गरेको थियो । सो निर्णय सार्वजनिक भएपछि स्थानीय वासिन्दाले आफूहरूसँग छलफल नगरी निर्णय गरेको भन्दै विरोध जनाएका थिए ।

चर्को आलोचना र विरोधपछि अन्ततः वैकल्पिक बाटो हुँदासम्म सो क्षेत्रमा सवारी आवागमन नरोक्ने निर्णय भएको छ । बरु ठूलोआँगन क्षेत्रमा सवारी पार्किङ निषेध गर्ने निर्णय समेत भएको छ ।

शुक्रबार गोरखा नगरपालिकामा बसेको सर्वपक्षीय र सर्वदलीय बैठकले ठूलोआँगनकै बीच भागमै शालिक बनाउने निर्णय भएपछि सोमबारदेखि शालिक राख्ने काम पनि सुरु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस