शहरीका डिभिजनल इन्जिनियर पाण्डेसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

शहरीका डिभिजनल इन्जिनियर पाण्डेसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


१४ मंसिर २०७९, बुधबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहरीका डिभिजनल इन्जिनियर पाण्डेसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सल्यानको रिखेवगर, गैरीकटेरी, बाघमारे मोटरबाटो स्तरोन्नतिका लागी विनियोजन भएको रकम हिनामिना गरेको आरोपमा शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय दाङका तत्कालीन कार्यालय प्रमुख, डिभिजनल इन्जिनियर राजेन्द्र प्रसाद पाण्डेसहित ६ जनाविरुद्ध मुद्दा दायर गरिएको हो । 

मोटरबाटो स्तरोन्नतिका लागि शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय, दाङ घोराहीबाट रकम विनियोजन भएकोमा डिभिजनल इन्जिनियर राजेन्द्र प्रसाद पाण्डेसहित तत्कालीन इन्जिनियर सन्तोष कुमार यादव, सब-इन्जिनियर नारायण ओली र निर्माण समितिका अध्यक्षसमेतको मिलेमतोमा आफ्नो अनुकूल इष्टिमेट चेन्ज गरी उक्त सडक निर्माणमा रकम हिनामिना गरेको आयोगको ठहर छ । 

साथै रिखेवगर, गैरीकटेरी, बाघमारे दाङ सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मन बहादुर खत्री, कोषाध्यक्ष शोभा कुमारी खत्री, सचिव लाल बहादुर के.सी.समेतले उक्त सडक निर्माण गर्दा सम्झौताको सर्त र स्वीकृत लागत अनुमान विपरीत काम गरेको भन्दै उनीहरुविरुद्ध पनि मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए । 

भण्डारीका अनुसार भेरिएशन स्वीकृत नगराई जथाभाबी निर्माण कार्य गरी मूल्याङ्कन विल, नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन तयार गरी/गराई योजनाको स्वीकृत लागत अनुमान अर्थात् डिजाइन र नर्म्स विपरीत लिएको रु.४३,२२, १५५.६६ बिगोवादीसहित आज विशेष अदालत काठमाडौँमा मुद्दा गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस