चुनावमा चलखेल गरेर हराए, राष्ट्रपति भएँ भने मज्जाले कार्यसम्पादन गर्न सक्ने आत्मविश्वास छ : झलनाथ खनाल « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

चुनावमा चलखेल गरेर हराए, राष्ट्रपति भएँ भने मज्जाले कार्यसम्पादन गर्न सक्ने आत्मविश्वास छ : झलनाथ खनाल


१४ मंसिर २०७९, बुधबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले इलाम १ मा आफूलाई हातको सफाइ र अन्तर्घातबाट हराइएको आरोप लगाएका छन् ।

खनालले भने, ‘इलाम १ का जनताले मलाई २०४८ सालदेखि माया गरेका छन् । पटक-पटक जिताएका छन् । इलामको विकास गर्ने पात्र पनि मै हुँ । मैले अर्बौँको योजना लगेको छु । यस पटक मलाई जनताले हराएकै होइनन् । हातका सफाइ र भित्री खेल खेलिए । अन्तर्घात भए ।’

उनले काँग्रेसका कार्यकर्ताले द्रव्यमोहमा परेर आफूलाई भोट नहालेको आरोप पनि लगाए । खनालले भने, ‘लोकतान्त्रिक अभ्यासमा कोही हार्छ, कोही जित्छ । त्यो ठूलो कुरा भएन । तर मेरो क्षेत्रको समानुपातिक मत हेर्दा हाम्रो ८ हजार २१, काँग्रेसको १६ हजार ४५०, माओवादीको १ हजार ६४९ मत छ । मैले २६ हजार मत पाउनुपर्नेमा तीन हजार मत कहाँ गयो त ? मैले त जम्मा २३ हजार पाएँ । त्यहाँ द्रव्य वितरण भयो । आलुगोलभेँडाहरु अराजक भए ।’

प्रमुख निर्वाचन आयुक्तले समेत मतगणनामा गडबडी भएको होइन भन्न नसकेको उनको दाबी छ । खनालले अगाडी भने, ‘मैले अनियमितता देखेँ, त्यो तथ्यले प्रस्ट पारेका छन् । ४३७ मत कहाँ गयो ? २६६ मत कसले थप्यो ? मैले यही कुरा राख्दा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पनि लाचारी व्यक्त गर्दै प्राविधिक जवाफ दिनुभयो ।’

उनले साझा नीति र कार्यक्रम बनाएर गठबन्धनकै सरकार बनाउनुपर्नेमा जोड दिए । खनालले भने, ‘अब एकै दलले बहुमत ल्याउन सम्भव छैन । त्यसैले संयुक्त सरकारको संस्कृति विकास नगरी धरै छैन । अब के गर्नेका लागि सरकार बनाउने भन्ने स्पष्ट हुनुपर्छ । अनि मात्र त्यो सरकार दिगो हुन सक्छ ।’

ठूलो दल भएकाले नेपाली काँग्रेसलाई प्रधानमन्त्री माग्ने हक भएको पनि खनालले औँल्याए । उनले थपे, ‘ठूलो दलका नाताले काँग्रेसलाई प्रधानमन्त्री माग्ने हक हुन्छ । तर त्यही हुनुपर्छ भन्ने जरुरी छैन । लेनदेन पनि हुन सक्छ । काँग्रेसको साटो माओवादीले पनि प्रस्ताव ल्याउन सक्छ । तेस्रो पार्टी हामी छौँ। जनताले त मिल भनेर आदेश दिइसकेका छन् ।’

नेता खनालले विगतमा प्रधानमन्त्री पद राम्ररी चलाएको दाबी गरेका छन् । उनले भने, ‘मैले विगतमा प्रधानमन्त्री राम्ररी चलाएको हुँ ।’ उनले अब राष्ट्रपति भएपछि पनि मज्जाले कार्यसम्पादन गर्न सक्ने आत्मविश्वास रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस