पत्रकार राईको मुद्दा काउन्सिललाई जिम्मा दिन आग्रह « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पत्रकार राईको मुद्दा काउन्सिललाई जिम्मा दिन आग्रह


१३ मंसिर २०७९, मंगलबार


काठमाडौँ । नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालले पत्रकार गजेन्द्र राईविरुद्ध नेपाल प्रहरीले चलाएको कारबाही कानुन विपरीत भएको भन्दै यो प्रेस काउन्सिलको अधिकार क्षेत्रभित्र पर्ने भन्दै यसैअनुसार हेरिदिन आग्रह गरेको छ । 

मङ्गलवार सरकारी वकिलको कार्यालय बबरमहल पुगेर सहन्यायाधिवक्ता अच्यूचकृण न्यौपानेलाई भेट्दै काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत, काउन्सिल सदस्य दीपक पाण्डे, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, महासचिव रोशन पुरीलगायतले यस्तो आग्रह गरेका हुन् ।

भेटमा उनीहरूले पत्रकार राईको मिडिया आधिकारिक रूपमा प्रेस काउन्सिलमा दर्ता भएर सञ्चालनमा रहेको तथ्य राख्दै आधिकारिक ढङ्गबाट सञ्चालित मिडियामा आएको सामाग्रीलाई लिएर प्रहरीले कारबाही अघि बढाउनु उचित नभएको बताए ।  मिडियामा आएको कन्टेन्टको विषयमा चित्त नबुझेमा समाधान खोज्ने बाटो प्रेस काउन्सिलको भएको भन्दै काउन्सिल अध्यक्ष बस्नेतले काउन्सिलले गरेको कारबाही चित्त नबुझे अदालती प्रक्रियामा जाने वा अन्य निकायमा जाने बाटो खुला रहेको बताए । 

भेटमा पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले पछिल्लो पटक साइबर क्राइम अन्तर्गतको कानुन लगाएर पत्रकारहरुलाई श्रृङ्लावद्ध पक्राउ गर्ने क्रम बढिरहेकोमा चिन्ता व्यक्त गर्दै यसले देशको लोकतान्त्रिक व्यवस्था र प्रेस स्वतन्त्रतामाथि नै आघात पुग्ने बताए । 

महासङ्घका महासचिव रोशन पुरीले पत्रकार गजेन्द्र राईको विषयमा प्रहरी सङ्गठन भित्रैका एक अधिकृतको व्यक्तिगत रीसइवि पनि जोडिएको जानकारीमा आएको उल्लेख गर्दै एक जना व्यक्तिको कारण सिङ्गो सङ्गठनलाई बदनाम गराउने गरी प्रहरी लाग्न नहुने बताए । 

यसैगरी सदस्य पाण्डेले काउन्सिलले उचित कारबाही गरेपछि गल्ती गर्ने पत्रकारहरू स्वयं पेसाबाट अलग्गिनु परेको तथ्यसमेत रहेको बताउँदै प्रहरीले काउन्सिलको क्षेत्राधिकारभित्र पर्ने विषयलाई साइबर क्राइमअन्तर्गत अघि बढाउनु उचित नभएको बताए ।

आफैँले सञ्चालन गरेको अनलाइन पत्रिकामा प्रकाशित भएको समाचार र भिडियोको विषयलाई लिएर शुक्रबार प्रहरीको साइबर ब्युरोले पत्रकार राईलाई गाईघाटबाट पक्राउ गरेको थियो । हाल दरबारमार्ग प्रहरी कार्यालयको हिरासतमा राखिएका पत्रकार राईको रिहाइको माग गर्दै नेपाल पत्रकार महासङ्घ, आदिवासी जनजाति पत्रकार महासङ्घ, किरात राई पत्रकार सङ्घलगायत सङ्घ सङ्गठनहरूले विज्ञप्ति जारी गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस