सीसीटीभी फुटेज हेरेपछि सुनसरी ४ मा सुरु भयो मतगणना « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

सीसीटीभी फुटेज हेरेपछि सुनसरी ४ मा सुरु भयो मतगणना


१३ मंसिर २०७९, मंगलबार


सुनसरी । चार दिनदेखि रोकिएको सुनसरी क्षेत्र नम्बर ४ को मतगणना दिउँसो ३ बजेदेखि सुचारु भएको छ ।

सर्वदलीय बैठकमा विवादित क्षेत्रको मतगणनाको सीसीटीभी फुटेज हेरेपछि गणना सुरु भएको हो ।

मतगणना सुचारु गर्न आज बिहान सर्वदलीय बैठक बसेको थियो । बैठकमा विवादित क्षेत्रको मतगणनाको सीसीटीभी फुटेज हेर्ने सहमति भएको थियो । बैठकपछि दलका प्रतिनिधि, उम्मेदवार, मुख्य निर्वाचन अधिकृत, जिल्ला न्यायाधिवक्ता, प्रशासन र सुरक्षा प्रमुखले फुटेज हेरेका थिए ।

सुनसरीको क्षेत्र नं. ४ मा अब चार वटा स्थानीय तहको गरी २० हजार मतगणना हुन बाँकी छ । सो क्षेत्रमा नेपाली काँग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले २३ हजार ४३९ मत ल्याएर अग्रता कायम गरेका छन् ।

नेकपा (एमाले)का उम्मेदवार जगदीशप्रसाद कुसियैतले २३ हजार ३४१ मत ल्याएका छन् । दुईबिचको मतान्तर ९८ मत रहेको थियो ।

सञ्चार मन्त्रीसमेत रहेका काँग्रेसका उम्मेदवार कार्कीले धाँधली भएको भन्दै निर्वाचन आयोगमा उजुरी दिए पछि मतगणना स्थगित भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस