हामी जुनसुकै भूमिका निर्वाह गर्न तयार छौँ : सुवास नेम्वाङ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

हामी जुनसुकै भूमिका निर्वाह गर्न तयार छौँ : सुवास नेम्वाङ


१२ मंसिर २०७९, सोमबार


काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले निर्वाचनको परिणामले लोकतन्त्रको सुन्दर र स्वस्थ प्रतिस्पर्धाको राजनीति अघि बढ्ने सन्देश दिएको बताएका छन्।

इलामबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई काठमाडौँ आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले निर्वाचनले दलहरू मिलेर देश र जनताकाहितमा काम गर्न प्रस्ट सन्देश दिएको उल्लेख गरे।

संविधानसभा अध्यक्ष नेम्वाङले भने, ‘जनताले सुनाएको निष्कर्षबाट निषेधको राजनीति पराजित भएको छ, जनताका अगाडि धेरै विषय र प्रश्न थिए। निर्वाचनले दिएको निष्कर्षले जनताको विजय भएको छ।’

लोकतन्त्रमा विश्वास गर्ने शक्ति जनआदेशअनुसार चल्नुपर्नेमा जोड दिँदै पूर्वसभामुख नेम्वाङले जनताले दलहरू मिलेर देश र जनताको हितमा काम गर्न दिएको निष्कर्ष अनुरूप आफ्नो दल अघि बढ्ने बताए।

अहिलेको सफल निर्वाचनले संविधान कार्यान्वयन गर्न राम्रो वातावरण प्रदान गरेको बताउँदै नेता नेम्वाङले भने, ‘संविधान र नयाँ जनादेशको सन्देशअनुरूप जुनसुकै भूमिका निर्वाह गर्न हामी तयार छौँ।’

मिश्रित निर्वाचन प्रणालीबाट आएको परिणामले कुनै अस्थिरता ननिम्त्याउने स्पष्ट पार्दै पूर्वसभामुख नेम्वाङले राष्ट्र र जनहितलाई केन्द्रमा अघि बढ्न सबै राजनीतिक दललाई सुझाव दिए।

Tags :
प्रतिक्रिया दिनुहोस