उदयपुर-१ मा पुनः मतदान गर्न एमालेको माग « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

उदयपुर-१ मा पुनः मतदान गर्न एमालेको माग


११ मंसिर २०७९, आइतबार


काठमाडौँ । नेकपा एमाले, राप्रपा, जसपासहित केही दलले धाँधली भएको भन्दै उदयपुर-१ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन रद्द गरी पुनः मतदानको माग गरेको छ ।

खसेको भन्दा बढी मत खसेको भन्दै उनीहरूले अहिलेसम्मको निर्वाचन प्रक्रिया रद्द गरी पुनः मतदानको माग गरेका हुन् ।

एमालेबाट प्रतिनिधिसभामा उम्मेदवार रहेकी मञ्जु चौधरी, प्रदेशसभाका उम्मेदवार कुशलबाबु श्रेष्ठ र ईश्वरमणि राउत र राप्रपा, जसपा, जनता प्रगतिशील पार्टी, केही स्वतन्त्र उम्मेदवार गरी १५ जनाले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन् ।

साथै मतदाताले मतदानका क्रममा प्रतिनिधिसभाको मतपत्र नपाएको र प्रदेशसभाको मतपत्र एकै व्यक्तिले दुई पटक प्रयोग गरेको पनि उनीहरूले उल्लेख गरेका छन् । मतगणना अन्तिम चरणमा पुगेका बेला एमालेसहितका दलले मतगणना रोकेर पुनस् मतदान माग गरेका हुन् ।

दिउँसो सवा ४ बजे सर्वदलीय बैठकपछि मतगणना सुरु हुने भनिए पनि मतगणना हुन नसकेको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले बताए ।

उनका अनुसार कुल ७६ हजार ७५६ मत खसेको उदयपुर-१ मा ६३ हजार ८० मत गणना भइसकेको छ । हालसम्मको गणनामा काँग्रेसका डा.नारायण खड्काले १ हजार ८२५ मतले अग्रता लिएका छन् ।

खड्काले २७ हजार ४८४ र एमालेकी मञ्जु कुमारी चौधरीले २५ हजार ६५९ मत पाएकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस