निमावि तहको गणित, विज्ञानमा ३८१ शिक्षक माग्दा ३२४ अनुत्तीर्ण, ५७ जना उत्तीर्ण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

निमावि तहको गणित, विज्ञानमा ३८१ शिक्षक माग्दा ३२४ अनुत्तीर्ण, ५७ जना उत्तीर्ण


११ मंसिर २०७९, आइतबार


काठमाडौँ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको गणित, विज्ञान विषयमा ३८१ जना शिक्षक माग गरेकामा ५७ जनाले मात्र लिखित परीक्षा उत्तीर्ण गरेका छन् ।

आयोगले सबै ७ प्रदेशका लागि ३८१ शिक्षक माग गरेको थियो । गत चैत १७ गते भएको सामान्य लिखित परीक्षा र असार ११ गतेको विषयगत लिखित परीक्षा उत्तीर्ण हुने जम्मा ५७ जना मात्र भएका छन् ।

अब यी ५७ जनाले अन्तर्वार्ता परीक्षा दिनुपर्नेछ, सबै परीक्षार्थी अन्तर्वार्तामा उत्तीर्ण हुँदा पनि ३२४ दरबन्दी रिक्त नै रहने भएको छ ।

आयोगका अनुसार मधेस प्रदेशमा निमाविको गणित विज्ञानका लागि २० शिक्षक माग गरिएको थियो । तर आवेदन दिएका परीक्षार्थीमध्ये कोही पनि विषयगत लिखित परीक्षामा उत्तीर्ण हुन सकेनन् ।

प्रदेश १ मा १६१ रिक्त पदको लागि २४, बागमती प्रदेशमा ५८ रिक्त पदको लागि जम्मा २ जना, गण्डकी प्रदेशमा ३९ रिक्त पदको लागि जम्मा पाँच जना उत्तीर्ण भएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशमा ३३ रिक्त पदको लागि ५ जना, कर्णाली प्रदेशमा २३ रिक्त पदको लागि ७ जना र सुदूरपश्चिम प्रदेशमा ४७ रिक्त पदको लागि १४ जना उत्तीर्ण भएका छन् ।

उत्तीर्ण शिक्षकहरूको अन्तर्वार्ता मंसिर २८ गते हुने आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस