गोकुल बाँस्कोटा दोस्रो पटक संसदमा ‘इन्ट्री’ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गोकुल बाँस्कोटा दोस्रो पटक संसदमा ‘इन्ट्री’


१० मंसिर २०७९, शनिबार


काठमाडौँ । काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा वाम-लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सूर्यमान दोङ (लालध्वज) विजयी भए ।

आज बिहान सम्पन्न मतगणनाअनुसार उनले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का रेशम लामालाई तीन हजार नौ सय १६ मतान्तरले पछि पार्दै जित हासिल गरेका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दोङले ३२ हजार आठ सय ६४ मत ल्याई विजयी भए भने लामाले २८ हजार आठ सय ४८ मत प्राप्त गरे । यस जितपछि दोङलाई दोस्रो पटक संसदीय यात्रामा प्रवेशको बाटो खुलेको छ ।

दोङ विसं २०६४ मा सम्पन्न पहिलो संविधानसभा सदस्य निर्वाचनमा २८ हजार आठ सय मत ल्याई विजयी भएका थिए । उनले तत्कालीन माओवादीका केन्द्रीय नेता डा. बाबुराम भट्टराईपछिको लोकप्रिय मत प्राप्त गरेका थिए ।

यस्तै काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले)का गोकुलप्रसाद बाँस्कोटा आफ्नो मुख्य प्रतिस्पर्धी गठबन्धनका तर्फबाट उम्मेदवार नेपाली काँग्रेसका शिवप्रसाद हुमागाईँसँग पाँच हजार आठ सय ६३ मतान्तरले विजयी भए ।

बाँस्कोटाले ४५ हजार तीन सय ४५ मत प्राप्त गरे भने हुमागाईँले ३९ हजार चार सय ८२ मत प्राप्त गरे । पूर्व मन्त्रीसमेत रहेकाबाँस्कोटा यस पटकको निर्वाचनबाट दोस्रो पटक संसदीय यात्रामा छन् ।

बाँस्कोटा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ मा ५४ हजार चार सय २७ मत (तत्कालीन निर्वाचनमा नेपालमै दोस्रो भारी मत) प्राप्त गरी विजयी भएका थिए।

विसं ०७४ चैतदेखि २०७६ फागुनसम्म सञ्चार तथा सूचना प्रविधि मन्त्री रहेका बाँस्कोटाले केही समय सहरी विकास मन्त्रीको रूपमा पनि कार्यभार सम्हालेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस